प्रिमियरपछि बोल्नै मान्दैनन् सेलिब्रिटी, मन नलागेर कि फिल्म झुर भएर?

काठमाडौं : गत साताबाट प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’को प्रिमियरमा हातका औंलामा गन्न सकिने सेलिब्रेटी पुगेका थिए। आएका सेलिब्रेटी पनि दर्जनौं क्यामेराका अगाडि बोल्नुपर्छ भनेर पछाडिबाटै साइड लागे।
केकी अधिकारी, एलिसा राई लगायत केहिको उपस्थितिले निर्देशक मिलन चाम्सको नाक जोगाएको थियो।
बुधबार फिल्म ‘११ः५५’ को प्रिमियरमा पनि उस्तै माहोल देखियो। प्रिमियरका लागि बिग मुभिजको हलमा दर्शक त भरिभराउ थिए, तर सेलिब्रिटी थिएनन्।
ग्राण्ड प्रिमियरमा फिल्म हेरिसकेपछि प्रतिक्रिया दिने बेलामा सुनसान जस्तै भयो। फिल्म कस्तो लाग्यो भनेर प्रतिक्रिया लिनका लागि युट्युबरले खेतमा हराएको सियोजसरी खोज्नुपरेको थियो।
उपस्थिति भएका दर्जनौं क्यामेराका अगाडि फिल्मका मुख्य कलाकार बाहेक प्रश्नको उत्तर दिने जयकिशन बस्नेत, दीपक आचार्य काकु र गजित विष्ट मात्र देखिन्थे। प्रिमियरमा आएका कलाकारले फिल्मलाई नराम्रो भन्ने कुरै भएन।
यी तीनबाहेक फिल्मकै मुख्य कलाकार महेश त्रिपाठी, श्रृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठको अन्तरवार्ता लिएर चित्त बुझाए युट्युबरहरूले। ‘अञ्जिला’ र ‘११:५५’ मा होइन, आजकल धेरैजसो प्रिमियरपछि सेलिब्रिटीहरू बोल्न मान्दैनन्।
यसको कारण बोल्नै मन नलागेर होला वा फिल्म नराम्रो भएर, त्यो भने उनैले जानुन्।
चैत ७, २०८१ बिहीबार १०:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।