वैशाखबाट परिमार्जनसहितको ‘सक्किगोनि’ ल्याउने कुमार र अर्जुनको तयारी

काठमाडौं : हास्य टेलिश्रृखंलाका कलाकारहरुको सपना टेलिभिजन सेटमा मात्रै देखिने होइन, हलको ठूलो पर्दामा देखिने पनि हुन्छ। यस्तै सपना देखेका र त्यसमै बाचिरहेका थुप्रै कलाकार छन्।
दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, सीताराम कट्टेलजस्ता कलाकार टेलिभिजनबाट पर्दामा आएका कलाकार हुन्। ‘तीतो सत्य’, ‘जिरे खुर्सानी’ र ‘मेरी बास्सै’ टेलिश्रृंखला बन्द भएपछि उनीहरु फिल्म निर्माणमा लागे।
त्यसपछि फिल्मबाटै राम्रो कमाइ हुने भन्ठानेर हो वा अन्य कुनै कारण उनीहरुले ती टेलिश्रृंखलामा फर्किएनन्। उनीहरु अहिले पनि फिलममै रमाइरहेका छन्।
एक दशकदेखि उनीहरुको नै पदचापलाई पछ्याइरहेका अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री) पनि फिल्म लिएर दर्शकमाझ आएका छन्। उनीहरुले बनाएको फिल्म फागुन १४ गतेबाट प्रदर्शनमा आयो।
उनीहरू फिल्ममा फर्किएपछि हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको ‘सक्किगोनी’ भने बन्द भयो। कुमार र अर्जुनको लेखन तथा निर्देशनमा बन्दै आएको यो जारी तेस्रो सिजन बन्द भएको दुवैले जानकारी दिएका छन्। उनीहरूले टेलिश्रृंखलालाई यतिमा मात्र नरोक्ने भन्दै नयाँ वर्षदेखि नयाँ सिजन आउने बताए।
उकेरासँगको कुराकानीमा अर्जुनले भने, ‘एजेन्सीसँगको सम्झौता पनि सकियो। केहि समयसम्मका लागि हामीले ब्रेक लिएका हौँ। वैशाखबाट सक्किगोनिको चौथो संस्करणको तयारी गछौँ।’
फिल्म निर्माणमै पो लाग्नुहुन्छ कि? भन्ने उकेराको प्रश्नमा उनले टेलिश्रृंखला र फिल्म दुवैलाई एकसाथ लैजाने जमर्को गरिरहेको बताए।
‘केहि परिमार्जनसहित श्रृंखलामा फर्कन्छौँ’, उनले भने, ‘१२ वर्षदेखि एउटै क्यारेक्टर, एउटै कन्थन भएकाले दर्शकलाई मनटनस भयो। नयाँ के दिने त दर्शकलाई भनेर हामी छलफलमै छौँ।’
यहि टिमले निर्माण गरेको फिल्म ‘लाज शणरम्’चौथो हप्तामा प्रवेश गर्दैछ।
चैत ७, २०८१ बिहीबार ०९:२७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।