एसइइको तयारी पुरा, पाँच लाख १४ हजार विद्यार्थी हुँदैछन् सहभागी

भक्तपुर : माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार बिहान ८ बजेदेखि देशभरका २ हजार ७९ परीक्षा केन्द्रमा एकैसाथ सुरु हुनेछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको सब तयारी पूरा भएको बताएको छ।
परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले सबै जिल्लाबाट परीक्षा केन्द्रहरू तयारी अवस्थामा रहेको जानकारी प्राप्त भएको बताए।
बोर्डले परीक्षाका लागि आवश्यक प्रश्न पत्र, सिम्बोल नम्बर, उत्तर पुस्तिका, र अन्य सामग्री सबै जिल्लामा पठाइसकेको छ। यस वर्ष एसइई परीक्षामा ५,१४,०७१ विद्यार्थी सहभागी हुने छन्, जुन गत वर्षको ४,६४,७८५ भन्दा ४९,२८६ जनाले बढी हो।
नियन्त्रक पौडेलका अनुसार परीक्षा केन्द्रहरूमा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। १ सय ५० परीक्षार्थीसम्म भएको केन्द्रमा १ जना सहायक केन्द्राध्यक्ष, २० विद्यार्थी बराबर १ जना निरीक्षक राखिएको छ।
काठमाडौँमा धेरै, मनाङमा थोरै
एसइइमा सबैभन्दा धेरै परीक्षार्थी काठमाडौँमा छन्। काठमाडौँमा ३९ हजार ६ सय विद्यार्थी सहभागी हुँदैछन्। सबैभन्दा कम परीक्षार्थी मनाङमा छन्। त्यहाँ ४३ जनाले परीक्षा दिनेछन्।
एसइई परीक्षा चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। असार ७ गतेभित्र नतिजा सार्वजनिक गर्ने तयारी देखिन्छ। बोर्डले यस वर्ष उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ। २०८० को एसइई परीक्षामा ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।
चैत ६, २०८१ बुधबार २२:५९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।