विश्वको कुरूप भनिएको 'ब्लोबफिश' बन्यो वर्षकै सर्वश्रेष्ठ माछा

एजेन्सी : विश्वकै कुरूप जीव भनेर चिनिएको 'ब्लोबफिश'लाई न्यूजिल्यान्डको एक वातावरणीय संस्थाले 'वर्ष माछा' घोषणा गरेको छ।
आफ्नो आकारका कारण बदनाम यो माछाले अहिले ५ हजार ५ सय मतमध्ये १ हजार तीन सय मत पायो। माउन्टेन टु सी कन्जरभेशन ट्रस्टद्वारा आयोजित वार्षिक प्रतियोगिताको उद्देश्य न्युजिल्यान्डको ताजा पानी र समुद्री जीवनप्रति जनचेतना बढाउनु हो।
२०१३ मा अग्ली एनिमल प्रिजर्भेशन सोसाइटीको शुभंकर बनेको यो माछा अस्ट्रेलियाको तटीय क्षेत्रमा २ हजार देखि ४ हजार फिट गहिराइमा बस्छ र लगभग ३० सेन्टिमिटरसम्म लामो हुन्छ।
वास्तवमा यो माछा आफ्नो प्राकृतिक वासस्थानमा साधारण देखिन्छ, तर सतहमा ल्याउँदा उच्च जल दबाबको कमीले यसको शरीर विकृत हुन्छ।
प्रतियोगितामा दोस्रो स्थान 'अरेन्ज रफी' माछाले प्राप्त गरेको छ।
‘यो गहिरो समुद्रका बिर्सिएका प्राणीहरूको प्रतिस्पर्धा थियो, जसमा ब्लोबफिशको अपरम्परागत सौन्दर्यले मतदाताहरूलाई जित्न सहयोग गर्यो,’ माउन्टेन्स टु सी कन्जरभेशन ट्रस्टका सह-निर्देशक किम जोन्सले भने।
स्थानीय रेडियो स्टेसनका होस्टहरूले चलाएको अभियानले ब्लोबफिशको पक्षमा समर्थन जुटाउन महत्त्वपूर्ण भूमिका खेल्यो।
संरक्षणवादीहरूका अनुसार, वर्षको माछा मनोनीत दशमध्ये नौ वटा सङ्कटापन्न छन्, जसमा गहिरो समुद्री ट्रलिङका कारण ब्लोबफिश पनि समावेश छ।
चैत ६, २०८१ बुधबार २१:३८:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।