५२ संवैधानिक पदाधिकारीविरुद्धको सुनुवाइ अब वैशाख ३ मा

काठमाडौँ : ५२ संवैधानिक पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा जारी मुद्दामाथि बुधवार भएको बहसपछि सुनुवाइका लागि २०८२ वैशाख ३ को मिति तोकेको छ। बुधवार भएको सुनुवाइमा रिट निवेदक र कानुन व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा भएको नियुक्ति किन गैर संवैधानिक हो भनेर बहस गरे। बहस नसकिएपछि अर्को पेशी बैशाख ३ लाई तोकियो।
बुधवार वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारी, रामप्रसाद भट्टराई, दिनेश त्रिपाठी, अधिवक्ता दीपेन्द्र झा, इन्द्रप्रसाद अर्याल, देचेन लामा, निशान्तबाबु खड्काले बहस गरेका थिए।
बहसकर्ताहरूले अध्यादेशमार्फत परिषद्को सदस्य सङ्ख्या ५ बाट ३ मा घटाउनु अनुचित र अत्यावश्यक नभएको, संवैधानिक परिषद् संघीय कानुनबमोजिम सञ्चालन हुनुपर्नेमा अध्यादेशद्वारा निर्देशित भएको, संसदीय सुनुवाइबिना नियुक्ति गैर संवैधानिक भएको र संविधानले अनिवार्य गरेको संसदीय सुनुवाइलाई प्रतिनिधिसभा नियमावलीले ऐच्छिक बनाउनु गैर कानुनी भएको दाबी गरेका थिए।
चैत ६, २०८१ बुधबार २१:१८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।