वनको डढेको गाउँ पस्दा ७७ लाखको क्षति

खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा ७७ लाख बढीको क्षति भएको छ। चैत ३ गते राति स्थानीय बाल्सीखोला सामुदायिक वनबाट सुरु भएको डढेलो गाउँ पस्दा १० वटा घर, बालकन्या आधारभूत विद्यालय र दुईवटा खानेपानी आयोजनामा क्षति पुगेको छ।
आगलागीबाट अदम राईको दुई वटा फुसको छाना भएको घर तथा घरमा भएका सम्पूर्ण सामग्री, गाईको गोठ तथा गोठमा बाँधिएका एउटा गाईको बाच्छी र तीन वटा बाख्रा जलेर नष्ट भए।
राईको १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सोही डढेलोले स्थानीय सम्बरबहादुर राईको सात लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।
नगेन्द्र राईको १२ लाख, पविन्द्रकुमार राईको नौ लाख, हिराधन राईको नौ लाख, कृष्णबहादुर राईको सात लाख, चयनकुमार राईको सात लाख बराबरको क्षति भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए।
डिकुवाको विभिन्न गाउँमा फैलिएको डढेलोले स्थानीय टङ्कबहादुर राईको फुसको छाना भएको घर जल्दा पाँच लाख तथा स्थानीय रनबहादुर राईको घरमा आंशिक क्षति हुँदा एक लाख ५० हजार बराबरको क्षति भएको थियो।
स्थानीय छोटा राईको चरनका लागि जङ्गलमा छाडिएको छ वटा बाख्रा र चार वटा खसी जलेर मर्दा एक लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।
आगलागीमा स्थानीय नाईखोला मुहान भएको बाल्चुङ–बाघखोर खानेपानी आयोजनाको ३२ मिलिलिटरको एक हजार २ सय र २५ मिलिलिटरको ९ सय मिटर पोलेथिन पाइप जलेर नष्ट हुँदा दुई लाख बराबरको क्षति भएको छ।
बाल्चुङ, बाघखोर र च्यानटारका ३२ घरधुरी उपभोक्ताले उपभोग गर्दै आएको खानेपानी आयोजनाको पाइप जलेर नष्ट भएपछि खानेपानी अभाव भएको छ।
सोही ठाउँको मैतञ्जु–थुम्की खानेपानी आयोजनाको ३२ मिलिलिटरको दुई हजार एक सय मिटर लामो पोलेथिन पाइप जलेर नष्ट हुँदा दुई लाख बराबरको क्षति भएको छ। आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालय, हलेसी तुवाचुङ नगरपालिका र रेडक्रसले राहत सामग्री उपलब्ध गराएका छन्।
-रासस
चैत ६, २०८१ बुधबार २०:३९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।