एनसेल फाउन्डेसनले लुम्बिनीका तीन विद्यालयका ४ सय ४६ विद्यार्थीहरूलाई शैक्षिक सामग्री दियो

काठमाडौं : एनसेल फाउन्डेसनले लुम्बिनी प्रदेशका तिन विद्यालयहरूमा ४ सय ४६ वटा शैक्षिक सामग्री वितरण गरेको छ।फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरूमा हानिएका प्रत्येक चौका बापत विद्यार्थीहरूलाई चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको थियो। घोषणा अनुसार शैक्षिक सामग्री वितरण सुरु गरेको हो। सामग्रीहरूमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी रहेका छन्।
मंगलबार एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाइरेक्टर विशाखा लक्ष्मी खड्काले शैक्षिक सामग्री वितरण गरेका थिए।
उनीहरूले कपिलवस्तु नगरपालिका, वडा १० को श्री राष्ट्रिय माध्यमिक विद्यालय र मदरसा वहरुल उलूमका २ सय ६० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका थिए। मंगलबार नै एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले राप्ति सोनारी गाउँपालिका, वडा ४ मा रहेको श्री बालकशान्ति प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई १ सय ८६ वटा शैक्षिक सामग्री वितरण गरे।
एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले प्रतिबद्धता अनुसार प्राथमिक तहका विद्यार्थीहरूलाई आवश्यक पर्ने शैक्षिक सामग्रीको सहयोग प्रदान गर्न पाउँदा खुसी लागेको बताए।
‘शिक्षालाई क्रिकेटसँग जोड्दै एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत विद्यार्थीहरूलाई उनीहरूको शिक्षामा सहयोग पुर्याउनु राम्रो अभियान हो’ क्यानका सचिव पारस खड्काले भने।
फाउन्डेसनका अनुसार एनपीएलमा हानिएका ६५३ चौका बापत कुल २ हजार ६ सय १२ वटा शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गर्नेछ। कपिलवस्तुका दुई विद्यालयहरूले एनसेल फाउन्डेसनसँग सहयोगको लागि अनुरोध गरेका थिए भने श्री बालकशान्ति विद्यालयले एनसेलको नेपालगन्ज कार्यालयमार्फत सहयोगको लागि अनुरोध गरेको थियो।
‘उत्साहजनक प्रतिक्रियाबाट हामी उत्साहित छौँ। शैक्षिक सामग्री वितरणको कामलाई निरन्तरता दिँदै क्यान जस्ता सम्बन्धित साझेदारहरूसँगको सहकार्यमा देशका अन्य भागका विद्यार्थीहरूलाई पनि शैक्षिक सामग्री उपलब्ध गराउने छौँ,’ एनसेलकी मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाइरेक्टर खड्काले भनिन् ।
चैत ६, २०८१ बुधबार २०:२८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।