प्रधानमन्त्री कप क्रिकेट : मधेश प्रदेशले त्रिभुवन आर्मीलाई हरायो

प्रधानमन्त्री कप क्रिकेट : मधेश प्रदेशले त्रिभुवन आर्मीलाई हरायो

दांग : प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब मधेश प्रदेशसँग ३ विकेटले पराजित भएको छ। मधेशले यो प्रतियोगितामा पाँचौं खेलमा दोस्रो जित निकालेको हो। 

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा आर्मीले दिएको २१८ रनको लक्ष्य मधेशले ७ विकेट गुमाएर ४८ ओभरमा पूरा गर्यो। मधेशका कप्तान अनिलकुमार साहले ४५ रन बनाए, हरिशङ्कर साहले ३८ तथा पवन सर्राफले ३६ रनको योगदान दिए। रूपेश सिंह ३८ रनमा अविजित रहे।

यसअघि, पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २१७ रनको योगफल तयार पारेको थियो। आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडे भने सन्तोष कार्कीले ३३ र कुशल मल्लले २४ रन बनाए। मधेशका लागि पवन सर्राफ, कमल गुप्ता र रूपेश सिंहले समान २/२ विकेट लिए भने रञ्जित कुमारले १ विकेट झारे।

दाङ, रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ भइरहेको प्रतियोगिता राउण्ड रोबिन आधारमा सञ्चालन भइरहेको छ। प्रतियोगिताअन्तर्गत दाङमा १४ खेल हुने तालिका छ, जुन चैत १६ गतेसम्म जारी रहनेछ।

चैत ६, २०८१ बुधबार १९:०७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।