सांसद सुनिल शर्माको प्रस्ताव : स्वास्थ्य बीमाको रकम सरकारले नै व्यवस्थित

काठमाडौं : प्रतिनिधिसभा बैठकमा सांसद डा. सुनिलकुमार शर्माले स्वास्थ्य सेवा सुधार तथा सर्वसुलभ उपचार सुनिश्चिततासम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेका छन्।
सांसद डा. शर्माले नेपालका नागरिकले संविधान प्रदत्त स्वास्थ्य हक प्रभावकारी रूपमा उपभोग गर्न नसकेको भन्दै स्वास्थ्य बीमाबापत तिर्नुपर्ने रकम सरकारले नै व्यवस्थित गर्नुपर्ने माग गरेका थिए।
उनले मिर्गौला उपचार सहायता (रु. ५ लाख) केही सीमित अस्पतालमा मात्र उपलब्ध हुँदा सेवाग्राहीलाई असहज भएको भन्दै जनताले जुनसुकै अस्पतालबाट सेवा पाउनुपर्ने माग राखे।
उनले पेस गरेको प्रस्तावमा गुणस्तरीय स्वास्थ्य सेवा पहुँचयोग्य बनाउन आवश्यक नीति तथा कार्यक्रम लागू गर्नुपर्ने आवश्यकता औँल्याउँदै ग्रामीण भेगका नागरिकहरूलाई स्वास्थ्य सेवामा समान पहुँच, स्वास्थ्य बीमाको दायरा वृद्धि, सरकारी अस्पतालहरूको सेवा सुधार जस्ता विषयमा ठोस उपाय आवश्यक रहेको उल्लेख छ।
प्रस्तावमा सबै नागरिकलाई सरकारी स्वास्थ्य बीमाको दायरामा ल्याउने, ग्रामीण तथा दुर्गम भेगमा आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्ने, विपन्न नागरिकलाई प्रमुख रोगको निःशुल्क उपचार उपलब्ध गराउने लगायत उल्लेख छ।
यसैगरि, सरकारी अस्पतालहरूमा औषधिको नियमित आपूर्ति सुनिश्चित गर्ने र सर्वसुलभ उपचारका लागि निजी अस्पतालहरूसँग सहकार्य गर्ने उनले प्रस्ताव गरेका हुन्।
उनको प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका मेटमणि चौधरी, माओवादी केन्द्रका छिरिङ डम्डुल लामा, जसपा नेतृ रेखा यादव, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, एमालेका अमर रायमाझी, नेपाली कांग्रेसका राजेन्द्र बजगाईँ र देवप्रसाद तिमल्सिनाले समर्थन गरेका थिए।
सांसदहरू रामहरि खतिवडा, प्रतीक्षा तिवारी, लक्ष्मी तिवारी, प्रेम सुवाल, सराज अहमद फारुकी, अम्बरबहादुर थापा, मोहनबहादुर बस्नेत, तारा लामा तामाङ, सञ्जयकुमार गौतम, डा. चन्द्रकान्त भण्डारी लगायतका सांसदहरूले स्वास्थ्य सेवा सुधार अत्यावश्यक रहेको धारणा राखेका थिए।
चैत ६, २०८१ बुधबार १७:४३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।