बाँझो जमिन देखेर गाउँ फर्किए, गर्छन् वार्षिक सात लाख आम्दानी

दमौली : जिल्लाको भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा संलग्न छन्। विसं २०५२ मा थानकोटबाट खेती सुरु गरेका थापा हाल आफ्नै गाउँ फर्किएर व्यवसायलाई विस्तार गरिरहेका छन्।
थापाले विगतमा अन्यत्र खेती गर्दा जग्गा भाडा तिर्नुपरेपछि गाउँ फर्किएर आफ्नै जमिनमा खेती सुरु गरे। उनले सात रोपनी जग्गामा सागसब्जी खेती गर्दै आएका छन्।
‘अन्यत्र भाडामा खेती गर्दा गुजारा मात्र चल्थ्यो, तर अहिले आम्दानीसँगै बचत पनि गर्न सकेको छु’ उनले भने।
थानकोटमा गोलभेँडा उत्पादन नभएपछि उनले माटो परीक्षण गर्दै खैरेनीटारमा खेती सुरु गरे। तर, त्यहाँको माटो उपयुक्त नभएपछि २०७९ सालमा गाउँ फर्किएर खेतीलाई थप व्यवस्थित बनाएका छन्।
‘गाउँमा बाँझो जमिन देखेर फर्किएँ, अहिले वार्षिक सात लाखभन्दा बढी आम्दानी गर्छु,’ उनले भने।
सिँचाइ सुविधाको अभावलाई समाधान गर्न उनले ४० हजार लिटर क्षमताको पोखरी निर्माण गरेका छन्। दुईवटा टनेलबाट सुरु गरेको खेतीलाई विस्तार गर्दै उनले अहिले ११ वटा टनेलमा सागसब्जी उत्पादन गरिरहेका छन्।
उनले बोडी, सिमी, काँक्रो, भिण्डी, फर्सी, लौका, अकबरे, गोलभेँडा, करेलालगायतका सागसब्जी उत्पादन गर्दै आएका छन्। तरकारी दुलेगौँडा, खैरेनीटार, भिमादलगायतका बजारमा सजिलै खपत हुने गरेको बताए।
-रासस
चैत ६, २०८१ बुधबार १७:१३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।