संसदमा आज : पुल निर्माणदेखि सुन तस्करीसम्मको चर्चा

काठमाडौं : प्रतिनिधिसभाको बुधवारको बैठकमा सांसदहरूले पुल निर्माणदेखि सुन तस्करीसम्मका विषय उठाएका छन्। उनीहरूले कृषि क्षेत्रमा मलको अभाव भएको, आगलागी नियन्त्रण, तथा बाल सुधार गृह सुधारमा देखिएका समस्याबारे सरकारको ध्यानाकर्षण गराए।
शून्य समयमा सांसद भगवती चौधरीले सुनसरीको जोगवनी भन्सार नाकामा ठूलो ट्रकहरूको आवागमनका कारण सडक क्षतिग्रस्त भएको उल्लेख गर्दै तत्काल मर्मत तथा पुनर्निर्माणको माग गरिन्।
सांसद भानुभक्त जोशीले औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी रूपमा वैध बनाउने विषय दुई वर्षअघि उठे पनि हालसम्म कानुन नबनेको भन्दै यसलाई कार्यान्वयन गर्नुपर्ने बताए।
आर्थिक सुधार र वैदेशिक निर्भरता कम गर्नुपर्ने माग
सांसद भीमप्रसाद आचार्यले युवाको विदेश पलायन रोक्न, राजस्व सङ्कलनका वैकल्पिक उपाय खोज्न र वैदेशिक सहायताको विकल्प खोज्न सरकारलाई आग्रह गरे।
सांसद मनिष झाले जनकपुर विमानस्थलको धावनमार्ग साँघुरो भएकाले ठूला विमानहरू नओर्लन सक्ने समस्या समाधान गर्दै धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए।
शिक्षा, कर्मचारी अभाव र उपभोक्ता हक सांसद महेन्द्रबहादुर शाहीले हिमाली जिल्लामा कर्मचारी अभावका कारण स्थानीय सरकारको कार्यसम्पादनमा समस्या आएको बताए।
सांसद महेशकुमार बर्तौलाले शिक्षकहरूको वृद्धि तथा विकास २०–२१ वर्षसम्म नभएको भन्दै तत्काल सुधारको माग गरे।
सांसद मैना कार्कीले संघीय सरकार र नेपाल शिक्षक महासंघबीच भएको सम्झौताअनुसार विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराइन्।
आगलागी नियन्त्रण र राहतको माग
सांसद महेश बस्नेतले इलामको जस्मिरे चिया प्रशोधन कारखानामा भएको आगलागीबाट चार करोड बराबरको चिया नष्ट भएको बताउँदै किसानलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरे।
सांसद बिजुली रायमाझीले अर्घाखाँचीमा घर तथा गोठ जलेर नष्ट भएकाले पीडितलाई राहत दिन सरकारसँग आग्रह गरिन्।
सांसद लालप्रसाद सावा लिम्बु र लालवीर चौधरीले कृषकलाई मकै तथा चैते धानबालीमा आवश्यक पर्ने मल अभाव समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद रामप्रकाश चौधरीले सर्लाही जिल्लामा पुल निर्माणको आवश्यकता रहेको भन्दै वर्षायामअघि नै निर्माण प्रक्रिया अघि बढाउन माग गरे।
सांसद मेटमणि चौधरीले सिमेन्ट र डन्डीको मूल्य अत्यधिक वृद्धि हुँदा उपभोक्ताहरू मारमा परिरहेको बताए। सांसद योगेशकुमार भट्टराईले ताप्लेजुङमा करदाता कार्यालय खोल्नुपर्ने आवश्यकता औँल्याए।
सांसद रणकुमारी बलम्पाकी मगरले एसइई परीक्षा सुरु हुन लागेको सन्दर्भमा शान्तिपूर्ण परीक्षा वातावरण सुनिश्चित गर्न माग गर्दै विद्यार्थीलाई शुभकामना व्यक्त गरिन्।
सुन तस्करीले बदनाम
प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद माधव सापकोटाले सोमबार राति काठमाडौंको टोखा नगरपालिका–२ झोरबाट नेपाल प्रहरीले करिब २५ करोड अवैध रकमसहित एउटा गाडी बरामद गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिनको माग गरे।
सोमबार राति ११ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ना १ ख १६५२ नम्बरको ट्रकबाट नगदसहित एकजनालाई पक्राउ गरेको थियो। सांसद सापकोटाले घटनाले संगठित अपराध र तस्करीको जालो गहिरोसँग फैलिएको देखाएको उल्लेख गर्दै 'यो घटनाले सिङ्गो देशलाई तरङ्गित बनाएको बताए।
सांसद रोशन कार्कीले नेपाल तस्करहरूको 'ट्रान्जिट पोइन्ट' बन्दै गएको हो कि भन्ने प्रश्न उठाउँदै, अपराध नियन्त्रणका लागि कडा कदम चाल्न सरकारलाई आग्रह गरिन्। सांसद रघुजी पन्तले नेपालमा सुन तस्करीसम्बन्धी अन्तर्राष्ट्रिय छवि सुधार गर्न आवश्यक कानुनी प्रावधान बनाउनुपर्ने बताए।
सांसद रामकृष्ण यादवले देशमा शान्ति सुरक्षाको आवश्यकतामा जोड दिएका थिए। सांसद राजेन्द्रकुमार केसीले पूर्वपदाधिकारीहरूले आर्थिक सेवा सुविधा नलिई जनताको विश्वास जित्नुपर्ने बताएका थिए।
चैत ६, २०८१ बुधबार १७:०३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।