कांग्रेस सांसदको आपत्तिपछि राप्रपाका सिंहको ठट्टा, ‘बुढो मान्छेले भनेको त मान्छन् नि यार’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहको अभिव्यक्तिमा नियमापत्ति जनाएका कांग्रेस सांसद रामकृष्ण यादवलाई सभामुखले बस्न आदेश दिएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकको विशेष समयमा सांसद सिंहले गणतन्त्रको दुई दशकमा पूर्वराजा ज्ञानेन्द्रले एक दिन पनि सरकार चलाउन अवरोध नगरेको भन्दै उनले त्यति हुँदा पनि सरकार किन आत्तिएको भन्दै प्रश्न गरे।
सरकारले सुध्रिने कुनै लक्षण नदेखाएपछि फागुन २५ गते राजा फर्काउन विमानस्थल पुगेको भिड देखेपछि पूर्वपश्चिम फर्किने पनि एकैतिर फर्किएको भन्दै उनले ठूला दलप्रति कटाक्षसमेत गरे।
‘सरकारमा बस्नेहरुको कूकर्म र अदूरदर्शिताले जनताले दुख पाइरहेका छन्,’ उनले भने, ‘सरकारमा बस्नेहरुले छन्छन् र खनखनमा मात्र ध्यान दिए।’
लगत्तै कांग्रेस सांसद रामकृष्ण यादवले रोक्न खोज्छन्। उनले नियमापत्ति पनि जनाउँछन्। सभामुखले संसद सचिवालयका कर्मचारीको मद्दतमा नियमावली हेरेपछि विचारको अभिव्यक्तिबाट दोहोरो अभिव्यक्ति दिने काम नगर्न निर्देशन दिन्छन्।
साथै उनले सांसद दीपकबहादुर सिंहको अभिव्यक्तिलाई बोल्न नदिनुपर्ने नदेखिएको भन्दै बस्न आग्रह गर्छन्। त्यसपछि राप्रपा सांसहरुले टेबुल ठोक्छन्। त्यसपछि सांसद सिंहले आफ्ना भनाइ अगाडि राख्न थाल्छन्।
यसबीचमा सांसद सिंहले सांसद यादवलाई ‘भैहाल्यो नि माननीयज्यू बस्नुस् न! बुढो मान्छेले भनेको त मान्छन् नि यार’ भनेर ठट्टा समेत गर्न भ्याए।
चैत ६, २०८१ बुधबार १३:२०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।