महिला समन्वय समिति गठन नभएपछि सांसद अर्यालले भनिन् ‘अब त आवश्यकता महसुस भयो’

काठमाडौं : नेपाली कांग्रेसकी सांसद रमा कोइराला अर्यालले प्रतिनिधि सभा नियमावलीले व्यवस्था गरेको महिला समन्वय समिति गठन गर्न आग्रह गरेकी छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद अर्यालले नियमावलीमा व्यवस्था भएर पनि अढाइ वर्षसम्म गठन नगरिएको समिति तुरुन्त गठन गर्न आग्रह गरेकी हुन्।
‘कानून बनाउने संसदभित्रै नियमावलीमै लेखिएको यस्तो समिति नबन्दा अचम्म लागेको छ,’ उनले भनिन्, ‘केही दिनदेखि संसदको गतिविधि हेर्दा यसको आवश्यकता पनि महसुस भएको छ।’
नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले चैत ३ गतेको बैठकम यौनलाई व्यावसायिकरण गर्न प्रस्ताव गर्दै संसदमा आफ्नो धारणा राखेका थिए।
त्यसको भोलिपल्ट महिला सांसहहरूले प्रतिनिधि सभा बैठकबाटै उनको अभिव्यक्तिको आलोचना गरेका थिए। केही सांसदले त उनलाई आफ्नै घरबाट यौन व्यवसाय सुरु गर्न आँट छ? भनेर प्रश्न समेत सोधेका थिए।
त्यसपछि बसेको कांग्रेसको पदाधिकारी बैठकमा पनि हप्की खाएपछि घिमिरेले आज सो विषयमा माफी नै माग्नुपर्यो।
चैत ६, २०८१ बुधबार १२:०४:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।