पर्यटक बढाउन यौनलाई व्यावसायिकरण गरौं भन्ने कांग्रेस सांसदले माफी मागे

काठमाडौं : नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक श्याम कुमार घिमिरेले संसदमा आफूले यौन व्यवसाय गरेर पर्यटक भित्र्याउनुपर्छ भन्ने धारणाबारे माफी मागेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद घिमिरेले आकस्मिक समय माग गरेर माफी मागेका हुन्। उनले आफ्ना धारणा व्यक्तिगत धारणा भन्दै दलको धारणा नभएको समेत स्पष्ट पारेका छन्।
उनले भने, ‘यी विचारले सदनका सदस्यहरु एवं अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै क्षमायाचना गर्न चाहन्छु।’
गत चैत ३ गते विशेष समयमा सांसद घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने बताएका थिए। मनोरञ्जन क्षेत्रलाई पनि प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने उनको दाबी थियो।
‘मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यावसायीकरण गरौँ। जसले यो मुलुकमा पर्यटकको सङ्ख्या बढाउनेछ,’ घिमिरेले भनेका थिए, ‘धार्मिक पर्यटकहरूले कम खर्च गर्छन्। साहसिक पर्यटक थोरै मात्र हुन्छन्। संसारमै सबैभन्दा धेरै पर्यटक भनेको मनोरञ्जन क्षेत्रको लागि हो। त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकमा आर्थिक विकास हुन्छ। विपक्षीले यी कुरा उठाइदिएको भए कति काइदा हुन्थ्यो!’
सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदद्वय दुर्गा राई र दीपक सिंहले यौन व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भन्दै घिमिरेले राखेको धारणाको विरोध गरेका थिए।
सांसद राईले कांग्रेस प्रमुख सचेतक घिमिरेको धारणा रेकर्डबाट हटाउनसमेत माग गरेकी थिइन्। उनले सांसद घिमिरेलाई चेतावनी दिँदै भनेकी थिइन्, ‘यौन व्यवसाय गर्न आफ्नो परिवारबाट अगाडि बढाउन आँट गर्न सक्नुहुन्छ ?’
यसका साथै मंगलबार बसेको कांग्रेस पार्टीको बैठकमा पदाधिकारीसहितका नेताले घिमिरेलाई र्याखर्याख्ती पार्दै जिम्मेवार पदमा बसेको व्यक्तिले कानुनले बन्देज लगाएको विषयमा धारणा नराख्न निर्देशन दिएका थिए।
चैत ६, २०८१ बुधबार ११:३०:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।