राजागंज : ‘मास’ लाई अल्झाउने, ‘क्लास’ लाई मोहित पार्ने !

मास अनि क्लास, फिल्म निर्माणमा यी दुबैलाई लक्षित गर्न पनि सकिन्छ अनि अलग गर्न नि सकिन्छ। जब मास लक्षित फिल्म निर्माण हुन्छ यसमा सबैले सजिलै बुझ्न सक्ने कथा छानिन्छ। चर्चित कलाकार र ठूला सेटको प्रयोग हुनसक्छ।
एक्सन, कमेडी, रोमान्स जस्ता लोकप्रिय तत्वहरू फिल्ममा छुटाइँदैन, ठूलो स्तरको मार्केटिङ र प्रचार गरिन्छ। अनि सामान्य दर्शकहरूको स्वादलाई केन्द्रबिन्दुमा राखिन्छ।
क्लास लक्षित फिल्मको कथावस्तुको संरचना प्राय जटिल हुन्छन्। यसको बजेटमा विशेष ध्यान दिइन्छ। सकेसम्म कम खर्चमा निर्माण सक्ने प्रयास हुन्छ। यसमा कलात्मक पक्ष विशिष्ट सिनेमाटोग्राफी, प्रतीकात्मक दृश्यहरूको प्रयोग गरिन्छ। यसको प्रचार सीमित हुन सक्छन्। सकेसम्म लक्षित वर्गसम्म फिल्मको प्रचार पुर्याउने प्रयास गरिन्छ।
समीक्षामा प्राय : मास लक्षित फिल्म आलोचनाको केन्द्रमा पर्छन्। तर त्यसको प्रभाव दर्शकमा खासै पर्दैन। व्यापारिक पक्षमा सफल हुन्छन्। उदाहरणका लागि छक्कापञ्जाको सिरिजदेखि १२गाउँसम्म नै छन्। मास लक्षित फिल्मका प्राय समीक्षामा उत्तीर्ण, अझ उस्तै परे डिस्टिङसनै हान्छन्। तर व्यापारिक रूपमा असफल हुन्छन्। 'हरि'देखि 'साम्बाला'सम्मको नतिजा हेरौँ न।
यही ‘मास’ अनि ‘क्लास’ लक्षित फिल्मको फ्रेमभित्र राखेर ‘राजागंज’लाई हेर्ने हो भने यो क्लास लक्षित फिल्मको सूचीमा पर्छ। यो फिल्म बुझ्न फिल्म सम्बन्धी केही न केही ज्ञान आवश्यक पर्छ दर्शकमा। नत्र 'कहिले राजाको फोटो त कहिले केपी ओलीको फोटो देखाउँछ। के देखाएको हो के! बनाउँछ हलमा। फिल्मका हल्लिएका सटहरू आउँदा ‘लौ खिच्न नजानेको क्यामरामेनले पो खिचेको रैछ’ भन्ने लाग्न सक्छ।
अहिले राजागंजले यही समस्या भोगिरहेको देखियो हलमा। प्रदर्शन भइरहेका तीन फिल्ममध्ये सबै दृष्टिकोणमा राजागंज बलियो छ। तर क्लास अर्थात् फिल्मको प्राविधिक पक्षबारे समेत केही न केही ज्ञान भएका दर्शकले मात्र निर्देशकले भन्न खोजेको दृष्य भाषा सहज रुपमा बुझ्न सक्ने गरि कथा र कथ्य संरचना बनेका कारण 'मास' दर्शक हलमा आकर्षित हुन सकेका छैनन्। प्रभाव शोज संख्यामा परिरहेको छ।
२०७२ सालको मधेस आन्दोलन मूल कथा र त्यसको प्रभाव देखाउन अपहरणको कथा मिसाएर निर्देशक दीपक रौनियारले निर्देशन गरेको ‘राजागंज’ छायाङ्कनदेखि, कलाकारको अभिनय, कथा र कथ्य संरचना लगायतका प्राविधिक पक्ष निकै बलियो भएको फिल्म हो।
विश्व चर्चित भेनिस फिल्म फेस्टिभलमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन त्यसै पाएको हैन रहेछ भन्ने फिल्म हेरिसक्दा अनुभव हुन्छ। तर जुन धारका फिल्ममा रमाउने दर्शकको बहुमत छ त्यो वर्गको दर्शकले फिल्म हेरेर इन्जोय गर्न सक्दैनन्।
मधेस आन्दोलनको कथामा बनेको रहेछ भन्ने हो भने अपहरणको कथा नि छ। अब अपहरणको कथामा रैछ भनेर हेर्यो भने राँको बाल्दै विरोध प्रदर्शन पनि भएका छन्। फिल्मको संरचनामा त्यति वास्ता नगर्ने, हेर्दा बुझे ठिक, नबुझे झुर निष्कर्ष निकाल्ने दर्शक यी दुवैको बिचमा चेपिन्छन् अनि ‘के कथा हो के’ भन्ने निष्कर्षमा पुग्छन्।
जब फिल्मको कथ्य शैलीको विविधता र अलि जटिल कथा पर्गेल्न सक्षम दर्शकले यो फिल्म हेर्छन्, उनीहरूले मोबाइल साइलेन्ट मोडमा मात्रै हैन, गोजीभित्रै राख्छन्। वरपरको खासखुसले पनि उनीहरूको ध्यान भङ्ग गर्ने जोखिम हुन्छ। किनकि एक फ्रेम छुट्यो कि फिल्मको कथै छुट्ने जोखिम जो छ। साङ्केतिक दृश्य पनि बबाल लाग्न सक्छ। रमाउन सक्छन् हरेक क्षण देखिने दृश्य अनि संवादमा।
अब फिल्मको कथासार। मधेसको सीमावर्ती गाउँ "राजागंज" मा केन्द्रित रहेर निर्देशक रौनियारले मधेस आन्दोलन, केन्द्रीय राजनीतिमा गढेको मधेस र पहाडलाई हेर्ने भिन्न दृष्टिकोण, भौगोलिक भिन्नताकै आधारमा नागरिकमाथि राज्यबाट भइरहेको विभेदको कथा पस्किएका छन्।
मधेस आन्दोलन चर्किरहेको बेला अपहरणमा परेका दुई पहाडी मूलका बालकको खोजी, ती बालकहरूमध्ये एकका अभिभावकमा मधेसमुलका सांसद प्रवीण यादव र पहाडी मूलकी प्रधानाध्यापक सविता कोइराला, अपहरण भएका बालकहरूको खोजी गर्न काठमाडौँबाट मधेस झरेकी पहाडेमुलकी इन्स्पेक्टर पूजा थापा (आशा मगराती) उनको सहयोगी मधेसी समुदायकी इन्स्पेक्टर ममता गुप्ता (निकिता चन्डक) यी नै पात्र मार्फत उनले कथा अगाडि बढाएका छन्।
ट्रेलर अनि टिजरले पुरै सस्पेन्समा आधारित क्राइम थ्रिलर फिल्म रहेछ भन्ने लाग्न सक्छ। तर के ती अपहरणमा परेका बालक फेला पार्न पूजा सफल हुन्थिन्? यही नै फिल्मको मुख्य रहस्य हो भन्ने पाराको छैन यो फिल्म।
फिल्मका मुख्य पात्रहरू बलियो र प्रभावशाली छन्। मुख्य पात्र पूजा थापा (आशा मगराती) एक महिला प्रहरी अधिकारीका रूपमा छिन् फिल्ममा। फिल्मको अंग्रेजी टाइटल उनकै नामबाट पूजा सर राखिएको छ। महिला पात्र हुन् उनी। तर सर जोडिएको छ। हेर्दा सामान्य शब्दलाई निर्देशकले ठूलो क्यानभासमा उतार्ने प्रयास गरेका छन्। उनको पात्रले व्यक्तिगत र पेसागत सङ्घर्षको प्रतिनिधित्व गरेको छ फिल्ममा।
अर्की छिन् ममता गुप्ता (निकिता चन्डक)। उनी पूजाभन्दा सक्षम छिन् अपराध अनुसन्धानमा। व्यक्तिगत स्वभावमा निडर। सक्षम हुँदाहुँदै मधेसको हुँदा आउने अविश्वास र भोग्नुपर्ने कष्टको प्रतिनिधित्व गरेकी छिन् उनले।
अपहरणमा परेका एक बालकको बाबु छन् सांसद प्रवीण यादव अनि आमा प्रधानाध्यापक छिन् सविता कोइराला (ऋचा शर्मा)। यी पात्र मार्फत निर्देशकले राजनीतिक र प्रशासनिक रूपमा विभेद छ तर त्यसको असर आम नागरिकको सम्बन्धमा परेको छैन भन्ने देखाउने प्रयास गरेको देखिन्छ।
एसपी मदन राई बनेका छन् दयाहाङ राई। जो भूगोलको आधारमा विभेद गर्ने प्रशासनिक प्रतिनिधि बनेका छन् फिल्ममा। यस्तै यस्तै पात्रहरू निर्माण गरेका छन् निर्देशकले फिल्मभरि आफ्नो कथा भन्न।
फिल्मका कलाकारहरूको अभिनय पक्ष अत्यन्त बलियो छ। आशा मगरातीले इन्स्पेक्टर पूजा थापाको भूमिकामा उत्कृष्ट अभिनय गरेकी छिन्। पात्रको चरित्र चित्रणमा उनी फिट छिन्। उनको अभिनयले पात्रको आन्तरिक द्वन्द्व र संघर्षलाई प्रभावशाली ढङ्गले प्रस्तुत गरेको छ।
यसमा निकिता चन्डकको अभिनय सरप्राइज हो। यस अगाडिका फिल्ममा देखिएको उनको अभिनय र यसमा देखिएको अभिनयले ‘अभिनय बलियो हुनु वा कमजोर हुनुमा कलाकार हैन निर्देशकको भूमिका हुन्छ’ भन्ने पुष्टि हुन्छ।
दयाहाङ राई, ऋचा शर्मा, विजय बराल र अन्य कलाकारहरूले स्क्रिप्टले दिएको जिम्मेवारी पुरा गरेका छन्। कमजोरी हुन दिएका छैनन्।
प्राविधिक रूपमा पनि फिल्म उत्कृष्ट छ। सिनेमाटोग्राफर सेल्डन चाउले मधेसको वातावरण र पात्रहरूको मनोदशालाई प्रभावशाली ढङ्गले क्यामरामा कैद गरेका छन्। जम्पकटले फिल्मको गति तीव्र बनाएको छ। तर कथाको लयमा खासै प्रभाव पारेको छैन। फिल्मको रङ्ग संयोजन, क्यामेरा मुभमेन्ट र ध्वनि डिजाइन उच्च स्तरको छ।
एक क्षेत्रको समस्यालाई पर्दामा कसरी उतार्न सकिन्छ भन्ने बहसमा उदाहरणका लागि देखाउन लायक फिल्म बनेको छ राजागंज। मधेस आन्दोलनबारे छिटपुट फिल्म बनेका थिए। तर यसले मधेस र मधेसी समुदायको वास्तविक समस्याहरूलाई पर्दामा उतार्न सफल भएको छ।
फिल्ममा सशक्त पात्र विकास छ र कलाकारहरूको प्रभावशाली अभिनय छ। उच्च स्तरको प्राविधिकको प्रयोग गरिएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको पीडा शक्तिशाली पात्रमार्फत प्रतिनिधित्व गराइएको छ। यति शक्तिशाली पात्र त आफ्नो यौनिक पहिचान खुलाउन हच्किन्छन् भने अन्यको अवस्था के होला? आमाको हेरचाहमा खटाइएकी पात्रको दृश्यबाट नै निर्देशकले दर्शकको मनमा प्रश्न जन्माउन सफल भएका छन्।
फिल्मको कथा मधेसमाथि पहाडे समुदायले विभेदै गरेको छ भन्नेमा एकोहोरिएको छैन। मधेसी र पहाडी समुदायबीचको एकताको सन्देश समेत समेटिएको छ पात्र मार्फत नै।
फिल्म पूर्ण कमजोरी रहित हुन सम्भव छैन। कति कमजोरी छ अनि कति बलियो छ, मात्राको पनि फरक हो। यो फिल्ममा पनि कमजोरीहरू छन्। फिल्ममा दुई कथाहरू (अपहरण र आन्दोलन) लाई एकैसाथ अघि बढाउन खोज्दा केही ठाउँमा निर्देशक चिप्लिएको देखिन्छ। फिल्म कतातिर गइरहेको छ भन्ने अन्योल बनाउँछ।
केही दृश्यहरूमा सिनेमाटोग्राफीको कमजोरी लुकाउन सकेका छैनन् सम्पादन टिमले। सम्पादन केही स्थानमा चिप्लिएको सहजै अनुमान गर्न सकिन्छ। जुन कथालाई समस्या देखाउन प्रयोग गरिएको छ त्यसमा हुनुपर्ने सस्पेन्स र ट्विस्टको निकै अभाव देखियो।
मधेसको समस्याबारे निर्देशकले अध्ययनमा जति मिहेनत गरे अपराध अनुसन्धानको शैली र विधिमा त्यति वास्ता गरेनछन् भन्ने अनुभव हुन्छ फिल्म हेर्दा। जम्पकटले फिल्मको गति तीव्र बनाएको छ। फिल्ममा साङ्केतिक रूपमै धेरै भन्न खोज्दा दर्शक अलमलिने ठाउँहरू धेरै छन्।
त्यसको एक समस्या, फिल्ममा एमाले अध्यक्षको रूपमा केपी ओलीले गरेको भाषणको एक अंश राखियो। त्यसलाई फिल्ममा प्रधानमन्त्रीको भाषणको रूपमा समेटियो। त्यो सम्बोधनको सानो अंश मधेस र मधेसीबारे केन्द्रीय सत्ताको सोच उजागर गर्ने उद्देश्यले प्रयोग गरे निर्देशकले। सेन्सर बोर्डका कारण फिल्ममा त्यो दृश्य म्युट भएर आयो। अनि समग्र फिल्मको कथाको निरन्तरतामै असर पार्यो।
जम्मा १० सेकेन्डको दृश्य नहुँदा फिल्ममा यति गम्भीर असर पर्यो भने फिल्मको कथ्य संरचना कति गम्भीर होला?
फिल्मको लक्ष्य नेपालमा रिलिज गर्नु नै हो नै। तर मुख्य उद्देश्य अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रदर्शन गर्ने देखियो। त्यसको प्रभाव कथ्य संरचनालाई निकै कसिलो बनाउँदा यताका दर्शकका हकमा अलमल हुने प्रशस्त ठाउँ देखियो। यसलाई हल्का खुकुलो बनाएर कथा भन्न सक्ने ठाउँ नभएको हैन फिल्ममा। अनुभव हुन्छ फिल्म हेर्दा। तर ‘यता’का दर्शक हेरेर एडजस्ट गर्दा ‘उता’ का दर्शकबाट आउन सक्ने १० मिनेटको स्ट्यान्डिङ ओभेसन नआउने जोखिम हुन सक्थ्यो।
धेरैले भनेको सुनिन्छ, फिल्म मनोरञ्जनका लागि त हो’। यसमा ‘धेरैजसो फिल्म मनोरञ्जनका लागि त हो’ भन्न सकिन्छ। कुनै फिल्म राजागञ्ज जस्तो केवल मनोरञ्जनका लागि मात्र नभई दिमाग रन्थनाउन पनि निर्माण गरिन्छ।
यसले उठाएका विषय र अब्बल प्रस्तुतिले फिल्मको ज्ञान भएका, गम्भीर फिल्मका पारखी ‘क्लास’ का दर्शकको माथिंगल पक्कै हल्लायो। ‘फिल्म लाग्या रैछ हेरिहालौँ न त’ भनेर हल छिर्ने ‘मास’ दर्शकको पनि उसरी नै माथिंगल हल्लिने जोखिममा छ समानान्तर रूपमा अगाडि बढेको आन्दोलन र अपहरणको कथा नबुझेर।
र, धेरै माथिंगल यस्तै ‘मास’का दर्शकको हल्लिएछ भन्ने शो सङ्ख्याले नै देखाइरहेको छ।
चैत ५, २०८१ मंगलबार २०:३७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।