शेष घलेलाई सचिवालय हस्तान्तरण गर्न केसी समूहलाई सर्वोच्चको चेतावनी पत्र, पाँच दिनको म्याद

काठमाडौँ : शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई कार्यालय सञ्चालन गर्न दिन सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सचिवालयलाई चेतावनीयुक्त पत्र पठाएको छ।
हाल डा.बद्री केसी नेतृत्वको एनआरएनएले सचिवालयबाट काम कारबाही गर्दै आएको छ। अदालतले घलेलाई सचिवालय सञ्चालन गर्न दिन आदेश दिएको थियो। आदेश कार्यान्वयन नभएपछि मंगलबार फैसला कार्यान्वयन निर्देशनालयले म्याद सहित चेतावनी दिएको हो।
पत्रमा सर्वोच्च अदालतको २०८० चैत २१ को आदेशलाई छल्ने-भाग्ने नियत देखिएकाले पुनः पाँच दिनभित्र अदालतको आदेश कार्यान्वयन गरेर जानकारी दिन भनिएको छ।
यदि निर्देशन कार्यान्वयन नभए अदालत नियमावली बमोजिम कार्यविधिको कार्यान्वयन गर्ने पत्रमार्फत चेतावनी दिइएको छ।
यसअघि फागुन ११ मा सोही निर्देशनालयले उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि सबै कार्यालय, कर्मचारी प्रशासन, नगद तथा जिन्सी सामान, कागजात, दस्ताबेजहरू लगायत सम्पूर्ण सामान हस्तान्तरण गर्न निर्देशन दिएको थियो। उच्चस्तरीय समितिको संयोजक पूर्व अध्यक्ष शेष घले रहेका छन्।
तर केसी नेतृत्वको एनआरएनएले फैसला कार्यान्वयन निर्देशनालयलाई पत्र पठाउँदै कार्यालय हस्तान्तरण गर्न नसकिने दाबी गरेको थियो। पत्रमा घलेलाई कार्यालय हस्तान्तरण गर्न पर्नाको कानुनी आधारबारे सोधिएको थियो ।
‘संघको विधान बमोजिम विधिवत् रूपमा आफ्नो जिम्मेवारी पुरा गर्दै आएको कार्यसमितिको अन्तर्गत रहेर कार्य गरिरहेको सचिवालयले हस्तान्तरण गर्नुपर्ने के कुन कानुनी आधार हो, त्यहाँ निर्देशनालयको निर्देशनमा उल्लेख हुन सकेको छैन,’पत्रमा भनिएको थियो।
गत वर्षको चैत २१ मा एनआरएनएको विवादमा सर्वोच्चले एकताको महाधिवेशन गर्न परमादेश दिएको थियो। सो परमादेशपछि परराष्ट्र मन्त्रालयले ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसीको नेतृत्वलाई काम गर्न रोक लगाएको थियो।
त्यस विरुद्ध केसी अदालत गएपछि सर्वोच्चले परराष्ट्रको पत्र कार्यान्वयन नगर्न आदेश दिएसँगै उनले फेरि सचिवालयबाटै काम गर्दै आएका छन्।
केसीले काममा फर्किएसँगै आफूसँग सहकार्य बिना घलेले एकताको महाधिवेशन गराउन नसक्ने जिकिर गर्दै आएका छन्। केसीले दोस्रो फैसला देखाउँदै कार्यालय खाली गर्न नमानेपछि सर्वोच्चले ५ दिनको अल्टिमेटमसहित एनआरएनए सचिवालयलाई दोस्रो पत्र पठाएको हो।
चैत ५, २०८१ मंगलबार १८:१६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।