चोक नामकरण विवादमा समाधान गर्न पाँच बुँदे सहमति, दुई महिनापछि नाम टुङ्ग्याउने

जनकपुर : धनुषाको सबैलामा चोक नामकरण सम्बन्धी उत्पन्न भएको विवादलाई समाधान गर्न पाँच बुँदे सहमति भएको छ।
मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषा, सुरक्षा प्रमुख, जनप्रतिनिधि, सरोकारवाला निकाय र स्थानीयहरूबिच भएको छलफलमा विभिन्न पाँच बुँदे सहमति भएको हो।
सर्वपक्षीय सहमतिमा सबैला नगरपालिकाले विवादित चोकको आगामी दुई महिनाभित्र नामकरणका गरिने निर्णय भएको छ। यससम्बन्धी निर्णयमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को आधारमा नगरपालिकाले जिल्ला सुरक्षा समितिसँग समन्वय गर्ने भएको छ।
घटनामा घाइते भएका व्यक्तिहरूको उपचार र क्षतिपूर्तिका लागि जिल्ला सुरक्षा समितिले गृह मन्त्रालयसंग समन्वय गर्ने निर्णय भएको छ।
विवादित चोकको नामकरण नहुँदासम्म सो स्थानको अवस्था परिवर्तन नगर्ने सहमतिसमेत भएको छ। घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा एक समितिको गठन गरिएको छ। समितिको प्रतिवेदनका आधारमा थप निर्णय गरिनेछ।
सर्वपक्षीय सहमति पत्रमा सबै पक्षलाई संयमित र सम्मानजनक व्यवहार गर्न आग्रह गरिएको छ। चोकको नामकरण नभएसम्म सबै पक्षले एक अर्कासँग शान्तिपूर्वक र सम्मानपूर्वक व्यवहार गर्ने सहमति गरेका छन्।
चोकको नामकरणलाई लिएर उत्पन्न विवादका क्रममा सोमबार प्रहरीले चलाएको गोली, शहिदनगरका २० वर्षीय युवक सन्तोष यादवलाई लागेको थियो। अहिले यादवको उपचार काठमाण्डौमा भइरहेको छ।
चैत ५, २०८१ मंगलबार १८:०८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।