पोखरा बेलुन विस्फोट घटनाको प्रतिवेदन : मञ्चमा प्रज्वलनशील पदार्थ प्रयोग नगर्न सुझाव

काठमाडौं : पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको अनुसन्धान गर्न गठित छानबिन समितिले मञ्चहरूमा प्रज्वलनशील पदार्थको प्रयोगमा रोक लगाउने सिफारिस सहित प्रतिवेदन बुझाएको छ।
समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा व्यक्तिगत रूपमा समेत सुरक्षामा संवेदनशील हुनुपर्ने औँल्याएको छ।
भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्कँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य जलेर घाइते भएका थिए।
घटना लगत्तै गृहमन्त्री लेखकले मन्त्रीस्तरको निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका थिए।
समितिले घटनाको विस्तृत छानबिन गरी र आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन पूर्वसर्तकता र अवलम्बन गर्नुपर्ने उपायसहितको प्रतिवेदन बुझाएको हो।
प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले प्रतिवेदनमा उल्लेख भएका विषय कार्यान्वयनका लागि गृह सचिव गोकर्णमणि दवाडीलाई निर्देशन दिए।
समितिले विशिष्ट व्यक्तिहरूको सहभागिता रहने कार्यक्रममा विशिष्ट व्यक्ति स्वयंले संवेदनशीलता ख्याल गर्नुपर्ने, सुरक्षालाई भन्दा उपस्थितिलाई मात्र प्राथमिकता दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने, मञ्चका कार्यक्रमहरूमा प्रज्वलनशील पदार्थहरूको प्रयोग गर्न पूर्ण रूपमा रोक लगाउनुपर्ने सुझाव दिएको छ।
प्रविधिका नाउँमा जोखिम मूल्याङ्कन नगरी कुनै कार्यक्रमहरू औपचारिक समारोहमा समावेश गर्न नहुने लगायतका सुझाव प्रतिवेदनमा उल्लेख छ।
भविष्यमा यस प्रकारका घटना हुन नदिन विस्फोटक रसायन र प्रज्वलनशील पदार्थको अनधिकृत आपूर्ति तथा उपयोगमा बन्देज लगाउनुपर्ने, यस्ता प्रकृतिका कार्यक्रम आयोजना गर्नु पूर्व अनुमति लिने क्रममा स्थानीय प्रशासनलाई कार्यक्रमको रूपरेखा उपलब्ध गराउनु पर्ने व्यवस्था मिलाउनुपर्ने, कार्यक्रममा सुरक्षा मापदण्डलाई ध्यानमा राखी सुरक्षित विकल्पहरूको उपयोग गर्ने सुझाव छ।
यसैगरि बेलुन उडाउन आवश्यक भएमा प्रज्वलनशील हिलियम ग्याँस प्रयोग गर्ने, यस्ता प्रकृतिका कार्यक्रममा अनुमति विना आतसबाजी तथा विस्फोटक रसायनको प्रयोगलाई पूर्णतः बन्देज लगाउनुपर्ने र सार्वजनिक कार्यक्रममा सहभागी हुने विशिष्ट-अति विशिष्ट व्यक्तिले समेत आफू सहभागी हुने सार्वजनिक कार्यक्रमको सञ्चालन र व्यवस्थापनबारे अग्रिम जानकारी लिई सुरक्षाको सुनिश्चितता भई कार्यक्रममा उपस्थिति हुनुपर्ने उल्लेख छ।
कार्यक्रम संचालनपूर्व आयोजक पक्षबाट योजना बनाउने र सरोकारवाला निकायहरूसँग निरन्तर रूपमा प्रभावकारी समन्वय गर्नुपर्ने, सार्वजनिक कार्यक्रमहरू (सभा, सम्मेलन, मेला, महोत्सव, प्रदर्शनी, र्याली लगायतका कार्यक्रम) सञ्चालन गर्ने सन्दर्भमा सुरक्षा व्यवस्था, विपद् व्यवस्थापन, कार्यक्रम सञ्चालन विधि लगायतका विषयहरू समेत समेट्ने गरी स्पष्ट कार्यविधि मापदण्ड तर्जुमा गर्नुपर्ने समितिको सुझाव छ।
चैत ५, २०८१ मंगलबार १७:५१:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।