एनआरएनलाई पर्यटन मन्त्रीको सुझाव ‘राजनीति हैन, समाज सेवा भावले काम गर्नु’

एनआरएनलाई पर्यटन मन्त्रीको सुझाव ‘राजनीति हैन, समाज सेवा भावले काम गर्नु’

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले दिगो एकताका लागि एनआरएनएको नेतृत्वले ध्यान दिनुपर्ने बताए।

मंगलबार गैर आवासीय नेपाली संघको १० औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई कम्बोडियामा सम्बोधन गर्दै मन्त्री पाण्डेले भने,‘नेपाल सरकारले तत्परताका साथ तपाईहरुबीच एकता खोजिरहेको छ। विशेषगरि परराष्ट्र मन्त्रालयले बडो महत्वका साथ यो विषयलाई हल गर्ने र एकताबद्ध गतिविधि सञ्चालन गर्ने, एकताबद्ध महाधिवेशन सम्पन्न गर्न पहल गरिरहेको छ।’

विदेशमा बसेर राजनीति नगरी सामाजिक भावले मात्रै एनआरएन अभियान अघि बढाउन सके नेपाललाई ग्लोबल ब्रान्डिङ  गर्न सकिने उनको भनाई थियो।

संविधानले प्रदान गरेको अधिकार गैर आवासीय नेपालीहरूले प्राप्त गर्नेमा कुनै दुबिधा नभएको उनले बताए।

पर्यटकीय र धार्मिक दृष्टिकोणले थाइल्यान्ड र कम्बोडियालाई नेपालसँग जोड्न सकेको खण्डमा सांस्कृतिक, पर्यटकीय र आर्थिक रूपले पनि  नेपाल लाभान्वित हुने मन्त्री पाण्डेको भनाई थियो।

गैर आवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले उच्चस्तरीय समितिले नै महाधिवेशन गर्नुपर्ने हो भने पनि त्यसलाई अक्टोबरमै गर्न सकिने वैधानिक व्यवस्था रहेको बताए।

उनले भने,‘यतिबेला हामी बृहत् एकताका लागि हदैसम्म लचक छौँ तर हाम्रा एनसीसीको कार्यक्रम प्रभावित हुनु भएन। यदि उच्च स्तरीय समितिकै १३ जनाले महाधिवेशन गराउने भए मे महिनामा त्यो सम्भव छैन। तर त्यसको वैधानिक व्यवस्था छ।’

चैत ५, २०८१ मंगलबार १७:४३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।