सिमेन्टको मूल्य वृद्धिमा मन्त्री भण्डारीको जवाफ : मैले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्ने ?

काठमाडौं : सिमेन्ट उद्योगीहरूले सहमति विपरीत मूल्य बढाइरहेको बेलामा उद्योग मन्त्री दामोदर भण्डारी उनीहरूको पक्षमा उभिएका छन्। प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा मन्त्री भण्डारी आफूखुसी मूल्य बढाउने उद्योग विरुद्ध कारबाहीको साटो उल्टै उनीहरूको पक्षमा उभिए।
उद्योगीसँग मन्त्रीको मिलेमतोमा अचाक्ली मूल्य बढेको आरोप लागिरहेकै बेलामा उनले बैठकमा सरकारसँग भएको सहमति विपरीत मूल्य बढाए कारबाही गर्ने त भने तर अधिकांश समय उद्योग मन्त्री भनेको उद्योगीहरुकै पक्षमा काम गर्ने हो भन्ने कुतर्क गरिरहे।
मन्त्रालयमा सरोकारवालाहरूसँग भएको छलफलमा प्रतिबोरा सिमेन्टको मूल्य अधिकतम ११५ रूपैयाँभन्दा बढी नहुने सहमति भएको उनले बताएका थिए। सिमेन्ट उत्पादन लागत अध्ययन गर्न मन्त्रालयले कार्यदल गठन गरेको र कार्यदलले आगामी ७-१० दिनभित्र प्रतिवेदन पेस गर्ने उनले जानकारी दिए।
मन्त्री भण्डारीले उद्योगीहरूको पक्षमा बोल्दै खुला बजारमा वस्तुको मूल्य व्यवसायीले निर्धारण गर्ने र सरकारको प्राथमिकता नीतिगत जटिलता हटाउने रहेको तर्क समेत गरेका थिए। उनले देशमा लोडसेडिङको समस्या भएको भन्दै यसका कारण पनि उद्योगहरूलाई चुनौती थपिएको दाबी गरेका थिए।
चैत ५, २०८१ मंगलबार १७:३७:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।