भारतमा व्यवसायीक रूपमा सफल नेपालीहरूको संयोजनमा नेपाल महोत्सव हुँदै, व्यवसाय र पर्यटन विस्तारको लक्ष्य

काठमाडौं : नेपाल र भारतबीच व्यवसाय, संस्कृति र खाना प्रवर्द्धन गर्न चैत २९ देखि ३१ (अप्रिल ११-१३) सम्म भारतको दिल्लीमा नेपाल महोत्सव आयोजना हुने भएको छ। भारतमा बसोबास गर्दै आएका नेपालीहरूको सक्रियतामा नेपाल महोत्सव हुन लागेको हो।
महोत्सव एभरेस्ट चेम्बर अफ कमर्सले आयोजना गर्न लागेको हो। यसमा भारतमा रहेको नेपाली दूतावासले सहकार्य गरेको छ। आयोजक एभरेस्ट चेम्बर अफ कमर्सका अध्यक्ष युवराज बरालले नेपाल महोत्सवले व्यापार, पर्यटन, व्यवसाय, संस्कृति र अध्यात्ममार्फत नेपाल-भारत सम्बन्ध प्रगाढ बनाउने लक्ष्य राखिएको जानकारी दिए।
एभरेस्ट चेम्बरमा महासचिव डा मोहन कार्कीले महोत्सवमा व्यवसायिक नेटवर्किङ सत्र, सांस्कृतिक प्रस्तुति, हस्तकला प्रदर्शनी र मौलिक खानासहित नेपाली व्यापार, पर्यटन, संस्कृति र धार्मिक क्षेत्रसँगै खाना र हस्तकला भारतीय नागरिकमाझ प्रवर्द्धन गरिने बताए।
महोत्सव निर्देशक राजेन्द्र घिमिरेका अनुसार दिल्लीको बार्हखम्बा रोडमा रहेको नेपाली दूतावास परिसरमा महोत्सव आयोजना हुँदैछ। महोत्सवमा नेपाल-भारत व्यापारसम्बन्धी छलफल, बीटुबी र बीटुसी नेटवर्किङ बैठक, लगानी विस्तारसम्बन्धी छलफल, पर्यटन र यात्रा प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, नेपाली खाना र अध्यात्म सत्र समावेश रहेको उनले जानकारी दिए।
हरेक वर्ष अप्रिल ११ देखि १३ सम्म महोत्सव आयोजना गर्ने तयारी स्वरूप पहिलो पटक २०२५ मा आयोजना हुन लागेको घिमिरेले जानकारी दिए।
'महोत्सव नेपालको व्यापार, संस्कृति र खानाको विस्तारको योजनासहित आयोजना गरेका हौँ, घिमिरेले भने, महोत्सवमा नेपाल-भारत दुवैतिरको व्यवसायी सहभागी हुँदै छन्। महोत्सवले नेपाल प्रवर्द्धन गर्ने अपेक्षा गरेका छौँ।'
कार्यक्रम अवधिभर परम्परागत नेपाली नृत्य, सङ्गीत र सांस्कृतिक प्रस्तुति, खानाप्रेमीका लागि मौलिक नेपाली खाना स्टल, व्यापार र उद्योग प्रदर्शनी र व्यावसायिक नेटवर्किङ अवसर, द्विपक्षीय व्यापार र पर्यटन बढाउने, सांस्कृतिक कूटनीति र व्यापार सम्बन्ध, उदीयमान व्यावसायिक लगानी क्षेत्र, दिगो पर्यटन र सांस्कृतिक सम्पदा, नेपाल-भारत आर्थिक सहयोगको भविष्यबारे प्यानल छलफल हुने घिमिरेले बताए।
भारतमा मुख्य रूपमा दक्षिण भारतीय फिल्म क्षेत्रमा सक्रिय घिमिरे फेस्टिभल निर्देशक हुन्। पत्रकार आकाङ्क्षा शाह प्लेनरी सेसन संयोजक छिन्। व्यवसायमा संलग्न अन्जु थापा अप्रेसन इन्चार्ज छिन् भने दुर्गा प्रसाद सुवेदी नेपाल संयोजक रहेका छन्। प्रभु मनी ट्रान्सफर, नेपाल टुरिजम बोर्ड लगायतले महोत्सवमा सघाएका छन्।
चैत ५, २०८१ मंगलबार १७:०२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।