२५ करोड अवैध रकम बोक्ने ट्रकको सन्देश: ‘गुड्नु छ रोडमा, कमाउनु छ नोटमा, जिन्दगीको भारी बोक्नु छ, चोटै चोटमा’

२५ करोड अवैध रकम बोक्ने ट्रकको सन्देश: ‘गुड्नु छ रोडमा, कमाउनु छ नोटमा, जिन्दगीको भारी बोक्नु छ, चोटै चोटमा’

काठमाडौं :  सोमबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयले तस्करी गरेर रसुवा लैजान लागेको ‘अहिलेसम्मकै’ सबैभन्दा धेरै अमेरिकी र युरोसहित एक जना नेपालीलाई पक्राउ गर्यो।

झोर महांकालमा नियन्त्रणमा लिएको  बा ७ ख १६२५ नम्बरको ट्रक पछाडि लेखिएको थियो ‘गुड्नु छ रोडमा, कमाउनु छ नोटमा, जिन्दगीको भारी बोक्नु छ, चोट चोटमा’

सोमबार बेलुका ११ बजे नियन्त्रणमा लिइएका ट्रक चालक हुन् सिन्धुपाल्चोकका ४३ वर्षीय कुसाङ लामा। कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार उनीसँग सोध्दा ‘ दुई जनाले सामान छ लगिदिनु भनेको र रसुवा जान लागेको’मात्र खुलाएका छन्।

विदेशी मुद्रा सामान्य रूपमा राखिएको थिएन, फल्स बटम (लुकाउने ठाउँ) बनाएर राखिएकाले उनलाई लैजानु भनेर दिएको सामान के हो चालक जानकार रहेको देखिन्छ। प्रहरीले बनोटमा गोप्य रूपमा लुकाएको अवस्थामा १३ लाख ७४ हजार १ सय ५० युरो अनि ३ लाख २० हजार ८ सय १५ अमेरिकी डलर फेला पारेको थियो।

मंगलबारको विदेशी मुद्राको सटही दर अनुसार यसलाई नेपालीमा रूपान्तरण गर्दा यो रकम २५ करोड एक लाख ६० हजार तीन सय ३८ रुपैयाँ हुन्छ। ट्रक चालक कुसाङको पृष्ठभूमि सुन तस्करीसँग जोडिन्छ।

उनी यसअघि २०७३ पुस १३ मा चीनबाट सात केजी सुन नेपाल भित्र्याएको अवस्थामा पक्राउ परेकाले कतै सोमबार बरामद गरेको सुन पनि सुनसँग जोडिने हो कि भनेर अनुसन्धान गरिरहेको छ। तर स्रोत अझैँ खुल्न सकेको छैन। यसको स्रोतबारे अनुसन्धान गर्ने निकाय राजश्व अनुसन्धान विभाग हो। प्रहरीले लामालाई विभाग बुझाउने तयारी गरेको छ।

तर बरामद रकमको मात्रा अधिक रहेकाले प्रहरी कार्यालयले समेत त्यसको स्रोतबारे अनुसन्धान गर्ने एसएसपी बस्नेतले बताए।

यस अगाडि नेपालबाट यसरी अवैध रूपमा विदेशी मुद्रा सङ्कलन गरेर चीन लैजाने काममा चिनिया नागरिकहरू संलग्न हुने गरेको खुलेको थियो। उनीहरूले अवैध गतिविधिबाट नेपालमा जम्मा गरेको रकम यहाँका विभिन्न विदेशी मुद्रा सटही काउन्टरहरूबाट पटक-पटक साटेर जम्मा पारेर शरीरका विभिन्न भागमा लुकाएर लैजाने गर्थे।

बरामद विदेशी मुद्राको मात्रा अधिक रहेकाले यो प्रहरीका लागि उनीहरूले कसरी जम्मा पारे त्यो नै सबैभन्दा पेचिलो प्रश्न बन्ने निश्चित छ।

कहाँबाट आयो यत्रो रकम

बैंकबाट वैध रूपमा यत्रो विदेशी मुद्रा साट्न सम्भव छैन। यसको विकल्प कि तेस्रो देशबाट अवैध रूपमा नेपालमा ल्याएर भित्र्याएर चीन लैजान खोजेको हुनसक्छ। भारत या अन्य देशबाट नेपाल भित्र्याएर कतै लुकाएर राखेर यसलाई रसुवा हुँदै चीन लैजान खोजेको हुनसक्ने पहिलो सम्भावना देखिन्छ।

पछिल्लो समय नेपालमा विभिन्न आवरणमा रहेका चिनियाँहरुसँग सुन तस्करीदेखि अनलाइन स्क्यामहरूमा संलग्न देखिन्छन्। एक चिनिया नागरिकको अपहरणको अनुसन्धानमा उनीहरूले नेपालबाट अनलाइन जागिर भन्दै भारतीय नागरिकहरूलाई ठगी गर्ने गरेको र ठगीको रकम निकाल्न भारतीय नागरिकहरू नै प्रयोग गर्ने गरेको खुलेको थियो।

प्रहरीले काठमाडौँ लगायतका विभिन्न स्थानहरूमा छापा मारेर पक्राउ गरेका चिनियाँहरुसँग उनीहरूले नेपालमा बसेर अमेरिका र युरोपसम्म अनलाइन ठगीमा संलग्न रहेको खुलेको थियो। त्यसका लागि उनीहरूले कल सेन्टर लगायतको व्यापारिक आवरणको प्रयोग गर्ने गरेका थिए।

पुरानै शैलीमा उनीहरूले अवैध गतिविधिबाट सङ्कलन गरेको रकम पटक-पटक गरेर विदेशी मुद्रा सटही काउन्टरहरूबाट साटेर जम्मा पार्ने र सो रकम अवैध रूपमा चीन भित्र्याउने गरेको खुलेको थियो। त्यसका लागि उनीहरूले समानान्तर रूपमा सिन्धुपाल्चोकको तातोपानी र रसुवाको नाका प्रयोग गर्ने गरेका थिए।

सटही काउन्टरको उपयोग गरेको हो भने बरामद भएको रकमको आधारमा उनीहरूले लामो समयदेखि रकम सङ्कलन गरेको देखिन्छ नै। तर एकिन भने अझै हुन सकेको छैन।

‘पक्राउ परेका चालक यस अगाडि सुन तस्करीमा समातिएर पाँच वर्ष जेल बसिसकेको खुलेकाले यो रकमको कनेक्सन सुन तस्करीसँग हुनसक्ने सम्भावना देखिन्छ,’ एसएसपी बस्नेतले उकेरासँग भने ‘विस्तृत अनुसन्धान नगरी यसै हो भन्न सकिने अवस्था छैन। राजश्व अनुसन्धान विभागलाई बुझाए पनि यो पक्षबारे हामी अनुसन्धान गर्छौँ।’

सम्बन्धित समाचार

चैत ५, २०८१ मंगलबार १६:३०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।