पूर्व आइजिपीको लहरमा फोटो त भ्रष्टाचार कसुरमा जेल गएकाहरूको पनि झुन्डिएकै छ

काठमाडौं : निकै कडा प्रतिस्पर्धाका बिच प्रहरी महानिरीक्षकमा नियुक्त हुन सफल वसन्तबहादुर कुँवर सोमबार ३० वर्षीय सेवा अवधि पुरा गर्दै नेपाल प्रहरीबाट औपचारिक रूपमा बिदा भए।
एसएसपीतहसम्ममा रहँदा प्रहरी नेतृत्वमा पुग्न असम्भव देखिएका उनी डिआइजी बढुवाबाट अगाडि बढ्दै एआइजी हुँदै २०७९ चैत १० मा प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए।
चैत ९ गते बेलुकासम्म लगभग उनको कार्यकाल एआइजीमै समाप्त हुने निश्चित भइसकेको थियो। अर्का प्रतिस्पर्धी श्याम ज्ञवालीले क्लोज समूहमा आइजिपीको बढुवा पार्टीको आयोजना गरिसकेका थिए। तर ज्ञवालीको हकमा अग्राख पलायो। उनको पार्टी खेर गयो। कुँवर प्रहरी महानिरीक्षकमा नियुक्त भए।
त्यही समयमा प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा थिए दीपक थापा पनि। उनले पनि प्रयास नगरेका हैनन्। तर साथ दिनुपर्ने राजनीतिक शक्ति केन्द्रबाट ‘कुँवरको अवकाशपछि पनि ६ महिना अवधि बाँकी नै छ, अब अर्को पटक’ भन्ने जवाफ आएपछि उनी ब्याक भएर कुँवरलाई साथ दिएका थिए।
जसरी कुँवरको बढुवा बहालवाला प्रहरी महानिरीक्षकको बिदाइको अन्तिम पलमा भएको थियो, थापाको बढुवा पनि त्यसैगरि नै भयो। यता मन्त्रिपरिषद्बाट थापाको नाममा निर्णय भएपछि प्रहरी प्रधान कार्यालयमा तयारी अवस्थामा रहेको बिदाइ कार्यक्रम सुरु भयो। थापा कार्यक्रममा सहभागी भएर कुँवरसहित सोमबार अवकाश पाएका अन्यसहित आठ जनालाई बिदाइ गरे।
सोमबार कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत, जनक भट्टराईले पनि अवकाश पाए। डिआइजीहरू ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द पनि पूर्व प्रहरी अधिकृत भए।
६ महिनामा हुने ‘चमत्कार’ के ?
सोमबार बढुवाको निर्णय भएका दीपक थापा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा निकै प्रफुल्ल देखिन्थे। प्रतिस्पर्धी दुई अधिकृतहरू केही निराश।
जुन सङ्गठनमा प्रहरी निरीक्षकको रूपमा प्रवेश गरेको त्यसैको सर्वोच्च पद ‘प्रहरी महानिरीक्षक’ मा नियुक्त हुँदा खुसी त लाग्ने नै भयो।
काम गर्दा प्राय विवादबाट अलि परै बस्ने स्वभावका थापाको काँधमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह मात्र आउँदै छैन, त्योसँगै गम्भीर चुनौती पनि सँगै आएका छन्। तर कार्यकालको अवधि हेर्ने हो भने बधाई, निरीक्षण र निर्देशनमै सकिने ६ महिना मात्रै छ।
प्रहरी सङ्गठनलाई निजामतीको प्रत्यक्ष मातहतमा लैजाने गरी संसद्मा पुगेको प्रहरी विधेयकमा संशोधन गराएर सुरक्षा सङ्गठनको चेनअफ कमान्ड जोगाउने उनको कार्यकालको सबैभन्दा जटिल जिम्मेवारी देखिन्छ। अहिले संसद्मा प्रवेश भइसकेको विधेयकमा प्रहरी सङ्गठनको निर्देशन, नियन्त्रण र सञ्चालनसम्बन्धी प्रस्तावित प्रावधान संशोधन गर्न सकिएन भने प्रहरी सङ्गठनको चेन अफ कमान्ड सुरक्षा सङ्गठनबाट फुत्किएर निजामती अर्थात् गृह सचिवको हातमा पुग्ने छ।
आफ्नो कार्यकालभित्र विधेयक जारी नभए उनको कार्यकाल ६ महिनामै सकिन्छ। विधेयक पारित भयो भने कार्यकाल थप ६ महिना थपिन्छ। तर विवादित प्रावधान संशोधन भएन भने चेन अफ कमान्ड भत्किएर निजामतीको हातमा पुग्ने छ।
सुरुवात अन्यकै कार्यकालमा भए पनि कार्यान्वयन उनको पालामा भएमा बहालवाला प्रहरी महानिरीक्षकको रूपमा यसको अपजस उनको थाप्लोमा आउने नै छ।
प्रहरी सङ्गठनको मुख्य दायित्व कानुन कार्यान्वयन गराउने हो। तर एकाध वर्षको अभ्यासले कानुन हैन सत्ता अनुकूल निर्देशन कार्यान्वयन गराउने जस्तै बन्दै गएको छ। प्रमाणमुखी अनुसन्धान भन्दा निर्देशनमुखी अनुसन्धान हाबी भएको सार्वजनिक भएकै विषय हो। यसले सङ्गठनको साख मक्किँदै छ। जनविश्वास खस्कँदै छ। साखमा गइरहेको पहिरो ६ महिना थेग्ने जिम्मेवारी थापाकै हो।
प्रहरी सदस्यहरूको सरुवा होस् या बढुवा, विवादरहित हुन सकेको छैन। हुने लक्षण छैन। उनले दर्ज्यानी चिन्ह लगाएर कुर्सीमा बसे लगत्तै पहिलो चुनौती सोमबारबाट अवकाश पाएका आठ अधिकृतहरूसँगै रिक्त भएको पदमा पारदर्शी बढुवा हुने पक्का छ।
अब एआइजीमा हुने बढुवाले थापापछि प्रहरी सङ्गठनको नेतृत्व तहमा पुग्ने प्रहरी अधिकृत 'पक्का' गर्ने भएकाले एआइजी पदमा बढुवा सबैभन्दा पेचिलो बन्ने पक्का छ। माथिल्लो तहमा रिक्त पद पूर्ति भएसँगै बढुवाको शृङ्खला तल्लो तहसम्म आउँछ नै। हरेक तहको बढुवामा राजनीतिक नेतृत्वको इन्ट्रेस्ट व्यवस्थापन गर्दै सङ्गठनका सदस्यहरूलाई न्यायको अनुभूति गराउनु थापाका लागि फलामे च्युँरा समान हुने पक्का छ।
अब उनी सङ्गठनको नेतृत्वमा रहेकाले हिजोका दिनमा झैँ ‘कसैलाई नचिढ्याई’ काम गर्न सम्भव छैन। भनेको नमाने राजनीतिक नेतृत्व चिढिन्छन् नै, नेताले भनेको माने अन्यायमा पर्ने सङ्गठनका सदस्य चिढिन्छन्।
‘म नेतृत्वमा पुगेँ भने’ भन्दै सुनाएका योजनाको खात पल्टाउने तत्काल परका कुरा, उनले आफ्नो कार्यकालमा 'नेताको निर्देशन हैन कानुनको दफा अनुसार व्यवहार' अनि सरुवा वा बढुवामा सङ्गठनका सदस्यले अन्यायको अनुभव गर्नु नपर्ने अवस्था मात्रै निर्माण गर्न सके भने पनि सफल बन्न सक्छन्।
नत्र पूर्व आइजिपीको लहरमा फोटो त भ्रष्टाचारको कसुरमा जेलै गएकाहरूको पनि झुन्डिएकै छ।
चैत ४, २०८१ सोमबार २३:५५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।