आउट ल - दफा २१९ : बाघको चरित्रमा बिरालोको संवाद

आउट ल - दफा २१९ : बाघको चरित्रमा बिरालोको संवाद

चट्ट बाघ लमक-लमक लम्कँदै आउँछ। टिलिक्क टल्केको आँखा देख्दा ज्यान सिरिङ्ग हुने नै भयो। ‘ल अब बित्यास पार्ने भयो’ भन्दै मन कामिरहेको बेलामा जब बाघ गर्जन्छ। आवाज आउँछ ‘म्याउँ’।

हलमा दुई घण्टा २१ मिनेट बिताउँदा फिल्म ‘आउट ल : दफा २१९’को महत्त्वपूर्ण दृश्यमा आउने पात्रहरूको संवाद शैलीले यस्तै ‘मिम’को झल्को दियो। द्वन्द्वलाई मुख्य प्राथमिकता दिएर निर्माण गरिएको फिल्मको कथ्यशैली अनि प्राविधिक रूपमा फिल्म छायाङ्कनमा गरेको मिहिनेत प्रशंसायोग्य छ। तर, निर्देशकले पात्रहरूको निर्माण बाघ शैलीमा गरे, तर संवाद शैली भने ‘म्याउँ’ सुनियो।

पात्रहरूको चरित्र चित्रण अनुसार पर्दामा संवाद आउँदा जुन गर्जन सुनिनुपर्ने थियो, त्यो सुनिँदैन। फिल्मको सबैभन्दा कमजोर पक्ष यही नै हो।

अहिले अपराधको कथामा बनेका फिल्म रिलिज भयो कि सुन तस्करी अनिवार्य जस्तै देखिन थालेको छ। ‘एक्टर : टेक वान’, ‘लाज शरणम्’ जस्तै यसमा पनि सुन तस्करी अनि त्यसमा राजनीतिक कनेक्सनको कथा लिएका छन् निर्देशकले।

अपराध अनि त्यसले निम्त्याउने संकट र त्यसको निष्कर्षतिर फिल्मको कथा लैजान निर्देशकले बिचमा अर्को अपराध जोडेका छन् बलात्कार र हत्या। कथालाई अगाडि बढाउने मूल पक्ष भने यही हो।

सुन तस्करीमा सक्रिय एक युवा छन्। राजनीतिक संरक्षणमा रहेका व्यक्तिको हितमा काम गर्दा उनी जस्तोसुकै जोखिम मोल्न पनि तयार छन्। यहीबीच शक्तिको आडमा पुल्पुलिएकाहरूबाट उनको आफन्तको बलात्कार र हत्या हुन्छ।

जो आफैँ अपराधमा संलग्न छ, उही पात्र एकाएक बलात्कार र हत्यामा संलग्नहरूलाई सजाय दिने अभियानका लाग्छ। तर, उनीहरूको संरक्षक निकै शक्तिशाली छन्। प्रहरी प्रशासनलाई सहजै प्रभावमा पार्छन्। प्रमाण मेटाउँछन्।

वैध रूपमा दोषीलाई दण्ड दिन सक्ने अवस्था नदेखेपछि पात्र न्यायको लडाइमा अवैध बाटोमा लाग्छ। के ऊ सफल हुन्छ? फिल्मको मूल कथा यही नै हो।

छायाङ्कन र सम्पादन ‘आउट ल’ को सबैभन्दा बलियो पक्ष हो। केही दृश्य हेर्दा अहो नेपाली फिल्ममा पनि यो तहसम्मको दृश्य खिच्न थालेछन् भन्ने अनुभव गराउँछ। फिल्ममा समावेश द्वन्द्वका दृश्यमा दक्षिण भारतीय फिल्मको प्रभाव देखिन्छ। तर सुहाएको छ। हङकङको प्रसङ्गमा राखिएको द्वन्द्वको दृश्य गजब देखिएको छ।

भागिरहेको गाडीलाई प्रहरीले पछ्याएको दृश्य बलियो देखिन्छ। यसमा ड्रोनको प्रयोग मजाले गरिएको छ। एक्सन प्रधान दृश्यसँगै कथालाई हराउन दिएका छैनन् निर्देशकले। यो फिल्मको सबैभन्दा बलियो पक्ष हो।

फिल्मको पात्र छनोट ठिकै छ। एक्सनमा देखिएका सुशील श्रेष्ठको काम बलियो छ। सुहाएको छ एक्सन अवतार। भान्जा पात्रमा देखिएका सुमन भण्डारीको अभिनय पनि कमजोर छैन। वकिल बनेकी शिक्षा सङ्ग्रौलाको अभिनय मध्यम देखियो। अन्यको पात्रको अभिनय ठिकै।

फिल्ममा र्याप घुसाएका छन् निर्देशकले। तर, गीतले फिल्मको कथाको लय बिगारेको छैन। स्क्रिनमा भिटेनको पुरानो गीत ‘हामी यस्तै त हो नि ब्रो’ आउँदा दर्शक खुसी नै हुन्छन्। अर्को र्याप छ ‘अन्धो कानुन’ बोलको। फिल्मको कथासँग यो पनि फिट सुनिन्छ।

अब फिल्मको कमजोरीमा प्रवेश गरौँ। यसमा पहिलो कमजोरी संवाद शैली देखियो। पात्रहरूको चरित्र चित्रण अनुसार संवाद शैली फिट नै भएको छैन। केही स्थान बाहेक सुशीलको चरित्रलाई स्वर र संवाद शैलीले साथ दिएको छ। तर, सहायक पात्रहरूको संवाद रेकर्डिङको क्रममा निकै हेलचेक्राई गरेको देखियो। बाघको संवादमा म्याउँ राखे जस्तै सुनिन्छ।

अर्को कमजोरी फिल्मको ब्याकग्राउन्ड म्युजिकमा देखियो। यो झर्कोलाग्दो सुनिन्छ। फिल्मको सुरुवातबाट नै बिजिएमले झर्को लगाउँछ। प्रप्सको आवाजमा पनि यस्तै कमजोरी देखियो।

वृद्धाश्रममा सुन लिन गएका र सुनको सुरक्षा गर्न बसेका समूहबीच बन्दुक हानाहान हुन्छ। दृश्याङ्कन भव्य बनाउने प्रयास गरिएको छ। तर, एसएलआर शैलीको हतियारको आवाज चैँ पटका पड्काएको जस्तो सुनिन्छ।

पहिलो हाफमा निर्देशक पात्रहरूको चरित्र स्थापित गर्न अलमलिएको अनुभव हुन्छ। यसले फिल्म अनावश्यक रूपमा तन्किएको अनुभव गराउँछ। हिंसात्मक दृश्यमा भारतीय फिल्म ‘एनिमल’को प्रभाव अनुभव हुने गरी देखियो। बलात्कारको सिक्वेन्समा भारतीय फिल्म ‘नो वन किल्ड जेसिका’को प्लट सापटी लिएको अनुभव भयो।

नेपाल प्रहरी अनि सशस्त्र प्रहरीले सुरक्षामा परिचालन गर्नका लागि सरकारसँग हेलिकप्टर मागेको धेरै भयो। तर पाएका छैनन्। यहाँ भागेकाहरू खोज्न प्रहरीले हेलिकप्टर प्रयोग गरेको दृश्य राखिएको छ। हेलिकप्टरको क्लोज सट ठिकै छ। तर कतैकतै भिएफएक्स कमजोर हुँदा खेलौना उडाएको जस्तो देखिन्छ।

मूल पात्र सुशील श्रेष्ठको आक्रोशित मुडका क्लोजअप सट अनि केही द्वन्द्वका दृश्यले साहिद कपुरको फिल्म ‘देवा’, ‘ब्लडी ड्याडी’ अनि ‘कबिर सिंह’का क्लिपहरूको झल्को दिइरह्यो।

अन्य जनराजस्तै एक्सन जनरा पनि लोकप्रिय नै मानिन्छ। तर, पछिल्लो समय नेपालबाट यो जनरा हराइसकेको देखिन्थ्यो। १२ गाउँले त्यसलाई फर्कायो। फिल्म कमजोर हुँदा पनि व्यापार पनि बबाल गर्यो यसले।

एकै जनराका आधारमा ‘आउट ल : दफा २१९’ लाई ‘१२गाउँ’सँग दाँज्ने हो भने द्वन्द्वात्मक पक्ष, कथा, अभिनय अनि क्यामरा वर्कमा यो निकै बलियो फिल्म हो। एक्सनमा समीर भट्ट मात्रै हैन, सुशील श्रेष्ठको पनि उदय गराएको छ यो फिल्मले। तर, संवाद शैली भने निकै कमजोर।

चैत ४, २०८१ सोमबार २१:१३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।