मन्त्रिपरिषद् निर्णय : प्रहरी महानिरीक्षकमा दीपक थापा

काठमाडौं : नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गर्ने हो।
सोमबार मध्यरात १२ बजेबाट वर्तमान आइजिपी बशन्तबहादुर कुँवरले अवकाश पाउँदै छन्। आइजीपीको प्रतिस्पर्धामा थापासहित सुदीप गिरी र टेकबहादुर तामाङ थिए।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख रहेका थापा प्रहरी सङ्गठनमा अधिकांश समय प्रशासन र फिल्ड कमान्डमा खटिने अधिकृत हुन्। यस अगाडि पनि उनी आइजीपीको प्रतिस्पर्धामा थिए। तर कुँवर नियुक्त भए। करिब ८० हजार रहेको प्रहरी संगठनको नेतृत्वमा पुगेका उनको कार्यकाल ६ महिनाको रहेको छ।
संसद्मा पेस भएको प्रहरी विधेयकमा ३० वर्षीय सेवा अवधिको प्रावधान हटाउन प्रस्ताव गरिएको छ। तर त्यसको पूर्ण कार्यान्वयन तीन वर्षपछि मात्र हुने प्रावधान रहेकाले विधेयक पारित भए पनि कार्यकाल थप ६ महिना थपिने छ।
विधेयक पारित भएर ऐन भएपछि पहिलो वर्ष ३० वर्ष सेवा अवधि पुरा हुनेको हकमा ६ महिना कार्यकाल थप हुने प्रावधान छ।
चैत ४, २०८१ सोमबार १९:१३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।