सरकारमा सहभागी हुनेबारे प्रचण्डको स्पष्टीकरण ‘यही सरकारमा जाँदैनौँ, ‘देशमा सङ्कट आए विचार गर्छौँ’

काठमाडौं : राजावादीहरू सक्रिय भएसँगै सत्ताधारी दल नेपाली कांग्रेस र एमालेको नेतृत्वसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटघाट बाक्लियो। यो सँगै अब माओवादीसहितको राष्ट्रिय सरकार बन्न लागेको प्रचार सुरु भयो। तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन लागेको प्रचार गलत भएको दाबी गरे।
सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार भ्रष्टाचारलाई जोगाउने पक्षमा रहेको र आफूहरू नियन्त्रण गर्ने पक्षमा रहेकाले विमति रहेको दाबी गर्दै सरकारसँग कुनै मिलन विन्दु नरहेको दाबी गरे।
‘आजभोलि कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भए भनेर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। अहिले सरकारमा जाने कुनै नीति लिएको छैनौँ, लिँदैनौँ पनि,’ उनले दाबी गरे ‘देशमा सङ्कट आए विचार गर्छौँ। तर यही सरकारमा गएर सामेल हुने कुनै नीति छैन। त्यस्तो औपचारिक रूपमा कुरा पनि कसैसँग भएको छैन।’
उनले नेपालमा चुनाव लडेर जित्ने मात्रै सक्षम र नेता हुन्छन् भन्ने गलत मान्यता रहेको बताउँदै चुनाव नलडेर पनि अध्ययन मेहनत गरेर विज्ञता हासिल गर्नेहरू नेताभन्दा धेरै माथि रहेको बताए।
मन्त्रीमण्डल बनाउँदा सांसदहरूबाटै बनाउने प्रणालीले सांसद बन्न अत्यधिक खर्च गर्नुपर्ने ,सांसद बनेपछि मन्त्री बन्न करोडौँको चलखेल हुने, मन्त्री बनेपछि सांसद बन्दाको खर्च, मन्त्री बन्दा लगानी गरेको खर्च उठाउनुपर्ने बाध्यता हुने उनले बताए।
यसले भ्रष्टाचार संस्थागत हुँदै जाने प्रणालीभित्रकै रोग रहेको र यस्तो प्रणालीगत रोग निको पार्न प्रणालीमा नै सुधार गर्न जरुरी रहेको उनले बताए।
उनले जबसम्म पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति या कार्यकारी प्रमुख हुँदैन तबसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रले स्थायित्व नदिने दाबी समेत गरे।
चैत ४, २०८१ सोमबार १८:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।