‘लोकसेवा परीक्षा हैन, बरु दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने बहस गरौँ न!’

‘लोकसेवा परीक्षा हैन, बरु दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने बहस गरौँ न!’

काठमाडौं : एकीकृत समाजवादीका सांसद् प्रकाश ज्वालाले लोक सेवा आयोगले छ पटकभन्दा बढी परीक्षा दिन नपाइने व्यवस्था गर्न लागेकोमा आपत्ति जनाएका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा सांसद ज्वालाले कुनै नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरीत भएको भन्दै बन्न लागेको त्यस्तो कानूनप्रति आपत्ति जनाएका हुन्।

उनले भने, ‘यसरी परीक्षाबाट नै बञ्चित गरी नेपाली युवाहरुलाई खाडी र मलेसियातिर धकेल्नु हो। सरकारले रोजगारीको विकल्प पनि नदिनु र परीक्षामा प्रतिस्पर्धा गर्न पनि रोक्नु भनेको मौलिक अधिकारबाट बञ्चित गर्नु हो। लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनुपर्दछ।’

यसको साटोमा बरु राजनीतिक नियुक्ति कतिपटक खान पाउने, चुनाव कति पटक लड्न पाउने, सांसद, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति कतिपटक हुन पाउने भन्ने विषयमा चाहिँ बहस गर्न समेत उनले आग्रह गरे।

उनले थपे, ‘राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुई पटक, मन्त्री र सांसद बढीमा तीनपटक हुने र गैरसांसद मन्त्री हुने व्यवस्था गरौँ।’

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा एक जनाले छ पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्ने तयारी गरेको छ।

समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म मात्रै परीक्षा दिन पाउने प्रावधान राख्ने गरी तयारी गर्न कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई आइतबार जिम्मेवारी दिएको छ।

चैत ४, २०८१ सोमबार १३:३८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।