पाथीभरा केबलकार विवाद : सुरक्षा निकायले उच्च संयमता अपनाएको गृहमन्त्रीको दाबी

पाथीभरा केबलकार विवाद : सुरक्षा निकायले उच्च संयमता अपनाएको गृहमन्त्रीको दाबी

काठमाडौं : गृह मन्त्रालयले पाथीभरा केबलकार निर्माण स्थलमा थप क्षति नहोस् भनेर सुरक्षा निकायले उच्च संयमता अपनाएको दाबी गरेको छ।

आजको प्रतिनिधि सभा बैठकमा सांसदहरुले आकस्मिक, शून्य र विशेष समयमा उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपानाइ शान्ति सुरक्षा प्रदान गरिरहेको जानकारी दिएका हुन्।

उनले सरकारले केबलकार निर्माणको क्रममा देखिएका समस्याको वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान गर्न चाहेको भन्दै त्यसका लागि गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरिएको समेत स्पष्ट पारे।

उनले संसद बैठकमा भने, ‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्यालाई सम्बोधन गर्न सरकार तयार छ।’
आयोजना निर्माण प्रक्रिया अगाडि बढाउने सम्बन्धमा संलग्न व्यक्ति र राजनीतिक दलले नै अहिले विभिन्न ढंगले विरोध गरिरहेको भन्दै उनले विगतको आफ्नो संलग्नता र भूमिकालाई स्मरण गर्नसमेत आाग्रह गरे।

२०७५ पुस १६ गते नेपाल सरकारको निर्णयले केबलकार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र सो क्षेत्रमा रहेका रुखविरुवाहरू हटाउन स्वीकृति दिएको थियो।

यस्तै, २०८० माघ २ गते केबलकारको बटम स्टेशनमा सशस्त्र प्रहरी बलको बेसक्याम्प स्थापना गर्ने र नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुनेगरी सुरक्षा व्यवस्था मिलाउन उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरबाट निर्णय भएको समेत उनले जानकारी दिएका छन्।

पाथीभरामा केबलकार बनाउन लागिएपछि अहिले त्यसको विरोध गर्दै स्थानीयहरुले त्यसलाई बन्द गर्नुपर्ने आवाज उठाउँदै आएका छन्। त्यस क्रममा ताप्लेजुङमा झडपको अवस्था समेत आएको थियो।

चैत ४, २०८१ सोमबार १३:०१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।