डिजिटल भुक्तानी निःशुल्क गर्न माग गर्दै निशाले सम्झाइन् प्रधानमन्त्रीको सात महिनाअघिको स्टाटस

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् निशा डाँगीले डिजिटल भुक्तानी निःशुल्क गर्न प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको सात महिनासम्म पनि कार्यान्वयन नभएको भन्दै सरकारको आलोचना गरेकी छन्।
सोमबारको प्रतिनिधि सभा बैठकमा चौथो पटक डिजिटल भुक्तानी निःशुल्क गर्ने विषय उठाएकी उनले प्रधानमन्त्री केपी शर्मा ओली र उनका सल्लाहकार विष्णु रिमालले सात महिनअघि लेखेको स्टाटसबारे पनि स्मरण गराएकी थिइन्।
‘प्रधानमन्त्रीले सात महिनाअघि डिजिटल कारोबारलाई निःशुल्क गर्ने प्रतिबद्धता जनाएका थिए,’ उनले भनिन्, ‘उनका सल्लाहकार विष्णु रिमालले पनि यसको आलोचना गर्दै फेसबुकमा स्टाटस लेखेका थिए। तर सरकारले अहिलेसम्म कुनै पनि काम अघि बढाएको छैन।’
फेसबुकमा स्टाटस लेखेर मात्र जनताको भलो नहुने भन्दै उनले कार्यान्वयन गरेर जनतालाई सहयोग गर्नुपर्नेमा जोड दिइन्। सरकारले आफ्नै वचनको मूल्य नबुझेको टिप्पणी गर्दै उनले सदनमा बारम्बार उठेका आवाजको बेवास्ता गरिरहेको समेत आरोप लगाइन्।
‘सरकारको आश्वासनलाई जनताले गम्भीर रुपमा लिन्छन् तर सरकार सुन्दै नसुने झैँ गर्छ। फेसबुकमा लेखेका कुरा लाइक, सेयर र कमेन्टका लागि मात्र थियो कि वास्तवमै कार्यान्वयन गर्नको लागि प्रतिबद्धता थियो?’
चैत ४, २०८१ सोमबार १२:१७:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।