यो देशमा तीन दिनमा पाँच जनाको हत्या भइरहेको छ : डा. चन्दा कार्की

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. चन्दा कार्कीले हरेक तीन दिनमा पाँच जनाको हत्या भइरहेको भन्दै त्यसको रोकथामको लागि माग गरेकी छन्।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले १० दिनको अवधिमा देशका विभिन्न भागमा १५ जनाको शव भेटिएको भन्दै यस्तो असुरक्षाको माहोल अन्त्यका लागि सरकारसँग माग गरेकी हुन्।
‘गत वर्ष मात्र देशमा ५०१ जनाको हत्या भएको देखिन्छ। हरेक तीन दिनमा पाँच जनाको मृत्यु भएको देखिन्छ,’ उनले भनिन्, ‘म आफैँ पनि चिकित्सक भएको नाताले हामी एउटा व्यक्तिको ज्यान देखाउन ७२ घण्टासम्म काम गर्ने गरेका छौँ तर यहाँ एउटा लुगा च्यातेको भरमा पनि मान्छेको ज्यान मारेका घटना सार्वजनिक भइरहेका छन्।’
कमजोर सुरक्षा व्यवस्था र अपर्याप्त आपतकालीन, अनुसन्धानमा कमजोरी र कार्यस्थलमा असुरक्षाका कारणल यस्ता घटनाहरु निरन्तर बढिरहेको भन्दै उनले शंकास्पद घटनामा पारदर्शी अनुसन्धान, कार्यस्थलमा सुरक्षा नियमहरुको प्रभावकारी कार्यान्वयन र निरीक्षण व्यवस्था बलियो बनाइ महिला र बालबालिकाको लागि विशेष सामाजिक सुरक्षाको नीति लागू गर्न समेत माग गरिन्।
पछिल्ला केही दिनमा बागमती, विष्णुमतिका साथै देशका विभिन्न स्थानमा मानिसहरूको शव भेटिने क्रम जारी रहेको भन्दै उनले सुरक्षा नियकालाई सतर्क रहन समेत आग्रह गरिन्।
चैत ४, २०८१ सोमबार ११:२७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।