उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी हुँदा ५९ जनाको मृत्यु, १५० जना घाइते

एजेन्सी : उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा ५९ जनाको मृत्यु भएको छ। १५० भन्दा बढी घाइते भएका छन्।
देशको पूर्वी भागको कोकानी शहरमा रहेको पल्स क्लबमा स्थानीय समय अनुसार बिहान करिब २:३० बजे आगलागी भएको थियो। यहाँ म्यासेडोनियाको लोकप्रिय डीएनके ब्यान्डको कन्सर्टमा भाग लिन लगभग ५०० जना पुगेका थिए।
सरकारी वकिलको कार्यालयका प्रवक्ताका अनुसार ब्यान्डका एक सदस्य मात्र बाँचेका छन्। उनको अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी अधिकारीहरूका अनुसार यस घटनामा १० जनालाई पक्राउ गरेर हिरासतमा राखिएको छ। पक्राउ पर्नेहरूमा यस कन्सर्टको लागि इजाजतपत्र जारी गर्ने मन्त्रालयका अधिकारीहरू पनि समावेश छन्।
आन्तरिक मामिला मन्त्री पेन्स तोस्कोभस्कीले आइतबार दिउँसो कन्सर्ट आयोजना भएको स्थानमा यस्ता कार्यक्रमहरूको लागि इजाजत नभएको बताए। यसैबीच, प्रहरीले आगलागीको कारण घुसखोरी र भ्रष्टाचार हो कि होइन भन्ने बारेमा अनुसन्धान गरिरहेको छ।
यो ठाउँ म्यासेडोनियाको राजधानी स्कोप्जेबाट लगभग सय किलोमिटर टाढा छ। सुरक्षा अधिकारीहरूले कन्सर्ट भएको भवनमा एउटा मात्र बाटो भएकाले घटनालगत्तै त्यहाँबाट मानिसहरू निस्कन नसकेको जानकारी दिए।
आतिशबाजीमा प्रयोग हुने उपकरणबाट निस्केको स्पार्कले आगो लागेको मन्त्री तोस्कोभ्स्कीले प्रारम्भिक रिपोर्टहरू उद्धृत गर्दै बताएका छन्। यो झिल्को अत्यधिक ज्वलनशील पदार्थबाट बनेको छतमा लागेपछि आगो फैलिएको थियो।
चैत ४, २०८१ सोमबार १०:२५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।