अमेरिकी हवाई आक्रमणमा ५३ हुथी विद्रोहीको मारिएपछि लाल सागरमा अमेरिकी जहाजमाथि थप आक्रमण गर्ने चेतावनी

एजेन्सी : यमनका हुथी विद्रोहीहरूले अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुगेको बताएका छन्।
विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा पाँच बालबालिका रहेको उल्लेख छ।
शनिबार, अमेरिकाले हुथी विद्रोहीहरू विरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको बताएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा जहाजमा हुथी विद्रोहीहरूले गरेको आक्रमणलाई हुथी विद्रोहीहरू विरुद्ध प्रत्यक्ष कारबाहीको कारण बताएका थिए।
अमेरिकी आक्रमणमा मारिएकाहरूमा केही प्रमुख हुथी विद्रोहीहरू पनि रहेको अमेरिकी दाबी छ। यद्यपि, हुथी विद्रोहीहरूले यसको पुष्टि गरेका छैनन्।
यसैबीच, हुथी विद्रोही नेता अब्दुल मलिक अल-हुथीले यमनमा अमेरिकी आक्रमण जारी रहेसम्म लाल सागरमा अमेरिकी जहाजहरूलाई लक्षित आक्रमण भइरहने चेतावनी दिएका छन्।
चैत ४, २०८१ सोमबार ०९:०७:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।