निर्देशक कृषाको अनुभव : निर्देशकको क्षमता हैन, लिंग हेरेर 'बिचरा, ट्राई गरेको छ' भन्दै दया देखाउँछन्

काठमाडौं : अभिनेत्री तथा निर्मात्री हुँदै रेखा थापा,झरना थापाले फिल्म निर्देशनमा आफ्नो कौशल देखाइसके। पछिल्लो समय निर्मात्री कृषा चौलागाई आफैँ फिल्म निर्देशनमा होमिइन्। पहिलो फिल्म थियो ‘ऐँचो पैँचो जुन अघिल्लो वर्ष प्रदर्शनमा आयो। यो व्यापारको दृष्टिकोणमा फ्लप भयो।
उनको निर्देशनमा बनेको दोस्रो फिल्म ‘पीताम्बर’ प्रदर्शनको सँघारमा छन्। फिल्म निर्देशन, लैंगिक विभेद लगायतका विषयमा उनलाई उकेराले फटाफट सोधेको केही प्रश्न र उनको जवाफ :
टिजरबाटै पीताम्बर साउथ इन्डियन शैलीबाट प्रभावित देखिन्छ। उतैको प्रभाव हो?
अलिकति लार्ज स्केल,तोडफोडवाला फिल्म साउथ इण्डियनहरुले मात्र बनाउँछ भन्ने छैन। बलिउडले बनाउँछ,हलिउडले पनि बनाउँछ। सिनेमाको कथाहरू नै सीमित छन्। कोही एक्सनमा जान्छन्,कसैले कमेडी गर्छन्,कसैले ड्रामा। त्यसमध्ये मैले एक्सन मुभी गरेको हो।
ऐँचो पैँचो सामाजिक कथामा आधारित थियो, यो एक्सनमा आधारित छ।कतैबाट प्रभावित भन्दा पनि भन्ने तरिका हो। मैले एक्सन जनरामा भिन्न कथा र शैली अपनाएर फिल्म निर्देशन गरेको छु।
महिला निर्देशकलाई हेर्ने दृष्टिकोण कस्तो छ?
निर्देशनमा हेर्नुपर्ने कला हो, तर महिला र पुरुष भनेर विभेद हुँदो रहेछ। महिला भन्नासाथ संरक्षण गरेको, दयाको पात्र, बिचरा ट्राई गर्यो भन्ने गरेको सुन्छु। काम भन्दा पनि लिंगको आधारमा महिलाले के गर्न सक्छन् र भन्ने तरिकाको व्यवहारको अनुभव पनि भयो।
तर हेर्नुपर्ने लिंग हैन नि, काम हो। नेपाली फिल्म क्षेत्रमा २-३ जना महिला निर्देशक छन्,त्यसमध्ये यो एक हो भने भइहाल्यो। हामीलाई न संरक्षण चाहिएको छ न दया। सँगै हिँडे भइहाल्यो।
एक्सन मुभी निर्देशन गर्दाको अनुभव ?
महिला निर्देशक भनेर विश्वास नगर्ने रहेछन्। एक्सन फिल्म अनि महिला डिरेक्टर रे भनेर हाँसेको पनि सुनेँ। फिल्मको टेक्निसियन, प्रहरी प्रशासनलगायतमा जाँदा पहिलो प्रश्न नै निर्देशक को हो भनेर आयो। डिरेक्टर म आफै हो भन्दा कतिले पत्याएनन्।
कतिपयले त म आफूलाई नै अप्ठ्यारो हुने तरिकाले हेरे। सायद उमेर पनि सानो देखेर हो की,म महिला पात्र भएकै कारण हो की?
सेटमा बसेर एक्सन भन्दा पनि कतिपयले डिरेक्टर को हो भनेको पनि सुनियो। सुटिङमा आउने सर्वसाधारणले निर्देशक सोधे। मैले मै हो भन्दा पत्याएनन्। यस्तै अनुभव भयो।
निर्माता हुँदै निर्देशकमा आउनुको कारण? अनि अनुभव ?
निर्माता र निर्देशक दुवै काम चुनौतीपूर्ण नै छ। निर्माता हुँदा पनि उस्तै गाह्रो। फिल्म बनाउन बैंकले ऋण पनि पत्याउँदैन। हातमा पैसा भयो भने फिल्म बन्छ। नत्र बन्दैन।
निर्माताले घर बेचोस् या जे सुकै गरोस्, हातमा क्यासै हुनुपर्छ। अनि लगानी गरेको पैसा फिर्ता आएर भने निर्माता सिधै रोडमा।
तर निर्देशक हुँदा यो जोखिम कम हुने। प्रेसर भने बढी हुने रहेछ। निर्माता हुँदा लगानी जुटाउने समस्या हुने, निर्देशक हुँदा लगानीकर्ताको लगानी फिर्ता गराउने जोखिम हुने रहेछ। निर्माताको हातमा पैसा नपरेसम्म तनाव हुने रहेछ।
गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘ऐँचो पैँचो’व्यापारिक रूपमा असफल भयो। तै पनि फिल्म बनाउन पैसा कहाँबाट आइरहेको छ?
टिमवर्क हो। म एक पटक लड्दैमा उठ्न नसक्ने निर्माता पनि हैन। म फिल्म क्षेत्रमा प्रवेश गरेको १८ वर्ष भयो। यो अवधिमा धेरै देखेको छु, बुझेको छु। अहिले लगानीमा विशाल चौलागाईं, पुरुषोत्तम प्रधान,आध्य लामिछाने र आरोह चौलागाईं र सुमन गौतमको साथ छ।
दोस्रो फिल्ममै एक्सन जनरा छान्नुको कारण?
दर्शकमाझ सानो-सानो कथा भनिरहेका थियौँ। जति सक्दो कम बजेटमा बनेका फिल्ममार्फत कथा भनिरहेका थियौँ। त्यसले समाजका घटनाका कथाहरूलाई देखाइरहेको छ।
तर एउटा मास लक्षित फिल्म पनि चाहिन्छ ,अलिकति ठुलो बजेटको फिल्म पनि बनाउनुपर्छ भन्ने भएर कोसिस गरियो। यो मेरो मनको कथा हो। म हिजो जे हेर्न चाहन्थे त्यो बनाएको हो।
चैत ३, २०८१ आइतबार २०:५४:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।