विष्णुमतीमा डोजर लगाउँदा भेटियो मूर्ति, पुरातत्त्व विभाग अनुसन्धानमा

विष्णुमतीमा डोजर लगाउँदा भेटियो मूर्ति, पुरातत्त्व विभाग अनुसन्धानमा

काठमाडौँ : विष्णुमती नदी  सफा गर्नेक्रममा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको हो-हैन भन्नेबारे पुष्टिका लागि मूर्ति पुरातत्त्व विभाग पठाइएको छ। महानगरपालिकाले सञ्चालन गरेको नदी सरसफाइ योजनाअन्तर्गत फागुन २४ मा विष्णुमती नदीमा डोजर लगाएर सफा गर्नेक्रममा मूर्ति फेला परेको थियो।

मूर्ति अहिले काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलको कार्यालयमा राखिएको छ। सानुमैया महर्जनका अनुसार कालीमाटी पुल र ज्ञानतीर्थबीचको खण्डमा फोहरसँग पुरिएको अवस्थाबाट मूर्ति निकालिएको थियो।

मूर्ति पूर्णाकारमा रहेको छ। तर कला र अङ्गहरूको आकृति भने बिग्रिएको छ। २०७८ चैत २४ मा भीममुक्तेश्वर मन्दिरमा रहेको मूर्ति हराएको थियो। स्थानीय र सम्पदा अभियन्ताहरूले यो मूर्ति विष्णुमती नदी किनारामा रहेको भीममुक्तेश्वर मन्दिरबाट हराएको कामदेव (छत्रचण्डेश्वर, लकुलिस) को भएको दाबी गरेका छन्।

उनीहरूको दाबीबारे महानगर प्रहरी बलको कार्यालयले सरोकारवालाको बैठक राखेर अन्तमा प्रमाणीकरणका लागि मूर्ति पुरातत्त्व विभागमा पठाउने निर्णय गरेको हो।

बैठकमा महानगरपालिकाको सम्पदा विभागका प्रमुख कुमारी राई, कालीमाटी प्रहरी वृत्तका प्रहरी वरिष्ठ नायव निरीक्षक लेखबहादुर धागा मगर, पुरातत्त्व अधिकृत मञ्जरी प्रधान, सङ्ग्रहालय अधिकृत पुरुषोत्तम आचार्य, यादवलाल कायस्थसहित पदाधिकारी तथा प्रतिनिधि थिए।

बैठकमा सहभागी कायस्थले सो मूर्ति कालीमाटी पुलबाट ज्ञानतीर्थतर्फ विष्णुमती नदी किनारामा भएको भीम मुक्तेश्वर मन्दिरको मूर्ति भएको दाबी गरे।

छानबिनमा मन्दिरबाट मूर्ति हराएको र सोबारे खोजीका लागि कालीमाटी प्रहरीमा निवेदन दिएको समेत खुलेको छ। छलफलपछि पुरातत्त्व विभागले अध्ययन गर्ने, अध्ययनले देखाएको अवस्थापछि थप प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो।

चैत ३, २०८१ आइतबार १७:११:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।