कुँवरको अवकाशको अघिल्लो दिनसम्म पनि लागेन नयाँ आईजीपीको टुङ्गो, तीन जना दौडमा

कुँवरको अवकाशको अघिल्लो दिनसम्म पनि लागेन नयाँ आईजीपीको टुङ्गो, तीन जना दौडमा

काठमाडौं : प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँबरले अवकाश पाउन एक दिन मात्र बाँकी छ। सोमबार उनले अनिवार्य अवकाश पाउने छन्। तर, नयाँ प्रहरी महानिरीक्षक चयन गरेको छैन सरकारले।

भावी नेतृत्वलाई सहजीकरण गर्न एक महिनाअघि बहालवाला आईजीपी बिदामा बस्ने प्रचलन एकादेशको कथा बनिसक्यो प्रहरीमा। नेतृत्व रिक्त हुने एक दिन अगाडिसम्म पनि नेतृत्व दिँदैन सरकार।

प्रहरी नियमावली अनुसार एआईजीमध्येबाट र एआईजी नभए डिआईजीमध्येबाट आईजीपी नियुक्ति हुने प्रावधान छ। अहिले एआईजी रहेकाले उनीहरूमध्येबाट एक जना आईजीपीमा नियुक्त हुने छन्।

वरिष्ठता, योग्यता, कार्यक्षमता, नेतृत्व क्षमतालाई नियुक्तिको आधार माने पनि आईजीपी नियुक्त सरकारको तजविजमा हुने गरेकाले भावी आईजीपीका लागि एआईजी दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मुख्य दाबेदार हुन्। यी तीनै जना २०५२ भदौ १८ मा इन्स्पेक्टरमा नियुक्त भएका हुन्।

एकल दलको सरकार रहेमा उही दलले पत्याएको आईजीपी हुने भइहाले। संयुक्त सरकारको हकमा गृह मन्त्रालय जसको नेतृत्वमा हुन्छ, उसैले रोजेको प्रहरी अधिकारी नेतृत्वमा पुग्ने गरेका छन्। कहिलेकहीँ प्रधानमन्त्रीको दल र गृह मन्त्रालय नेतृत्वमा रहेका सांसदको दलबीच विवाद हुने गरेको देखिएकै हो।

अहिले प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्रीमा कांग्रेस सांसद रमेश लेखक छन्। अहिलेको समीकरणमा सहयोगी दलसँग टक्कर लिने अवस्थामा प्रधानमन्त्री ओली देखिँदैनन्। यसको आधारमा कांग्रेसले रुचाएको प्रहरी अधिकारी आईजीपी नियुक्त हुने देखिन्छ।

दीपक थापा प्रशासनिक, खुला युनिट र फिल्डको नेतृत्वमा बढी संलग्न देखिन्छन्। त्यसैले सार्वजनिक पहिचानमा उनी अन्य दुई प्रतिष्पर्धीभन्दा अगाडि छन्। अनुसन्धानमा उनी उपत्यका अपराधमा खटिए। अहिले केन्द्रीय अनुसन्धान ब्यूरोमा छन्। दलगत आधारमा उनी सत्ताधारी र प्रतिपक्षीसम्म सहज सम्बन्ध बनाउन सिपालु प्रहरी अधिकृत हुन्। एआईजीमा बढुवा मितिको आधारमा उनी अगाडि छन्।

सुदीप गिरी सार्वजनिक युनिटभन्दा बढी विशेष युनिटमा खटिए। त्यसैले सार्वजनिक परिचयमा उनी पछाडि देखिन्छन्। लामो समय अन्तर्देशीय अपराध लगायतका गम्भीर प्रकृतिको अनुसन्धान गर्ने विशेष ब्यूरोमा खटिएका उनी अहिले प्रहरी प्रशिक्षण प्रतिष्ठानमा छन्। पारिवारिक पृष्ठमूभि न्याय क्षेत्रसँग भएका उनी दलगत आधारमा नेपाली कांग्रेस निकटका रूपमा परिचित छन्।

तेस्रो प्रतिष्पर्धी हुन्- टेकबहादुर तामाङ। अहिले उपत्यका प्रहरी कार्यालयको प्रमुख रहेका उनी लो प्रोफाइलमा रहेर काम गरेका प्रहरी अधिकृत हुन्। उनी पनि लामो अपराध अनुसन्धान र फिल्ड कमान्डमा थिए।

अख्तियारमा लामो समय खटेर भ्रष्टाचारको अनुसन्धानमा बढी खटिएका उनको पारिवारिक पृष्ठभूमि नै प्रहरी हो। दलगत रूपमा त्यति नखुलेका विशेषत उनी प्रशिक्षणका अनुभवी हुन्। गिरी र तामाङ एकै दिन एआईजीमा नियुक्त भएका हुन्।

यी तीनमध्ये जो आईजीपीमा नियुक्त हुनेछन् उसले चैत ५ बाट प्रहरी नेतृत्व सम्हाल्ने छ। अहिलेकै नियमावली कायम रहे कार्यकाल जम्मा छ महिना हुने भएकाले आईजीपी हुनेको उपलब्धि आईजिपीको लहरमा फोटो झुन्ड्याउने मात्र हुने देखिन्छ। संसदमा पेश भएको प्रहरी ऐन पास भएमा कार्यकाल छ महिना लम्बिने छ।

यसैबीच आईजीपी वसन्त बहादुर कुँवरसँग एआईजी टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई साथै डिआईजीहरू ध्रुवराज राउत, भोला रावल र गणेश चन्द पनि भोलिबाट अनिवार्य अवकाशमा जाँदैछन्।

चैत ३, २०८१ आइतबार ११:१३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।