मुम्बई इन्डियन्सलाई दाेस्रोपटक वुमन्स प्रिमियर लिगको उपाधि

काठमाडौं : भारतमा भएको वुमन्स प्रिमियर लिग (डब्लुपीएल) टी२० क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ।
१५० रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सलाई २० ओभरमा १४१ रनमा समेट्दै मुम्बईले आठ रनले उपाधि जितेको हो। सन् २०२३ मा उपाधि हात पारेको मुम्बईले दोस्रो पटक उपाधि उचालेको हो।
१५० रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीका मरिजान कामपले सर्वाधिक ४० रन जोडिन्। त्यसका अलावा जेमिमा रोड्रिगोसले ३०, निक्की प्रसादले अविजित २५ रनको योगदान दिइन्।
जेस जोनास र मेग लानिङ समान १३–१३ रनमा आउट भए। मुम्बईकी नाट सिभर ब्रुन्टले तीन तथा अमेलिया केरले दुई विकेट लिइन्।
त्यसअघि मुम्बईको ब्राबर्न स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको मुम्बईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४९ रन बनायो।
उसका लागि कप्तान हर्मनप्रित कौरले ६६ रनको अर्धशतकीय पारी खेल्दा नाट सिभर ब्रुन्टले ३० रन जोडिन्। अमनजोत कौरले १४ रन लिँदा जी कामिलिनीले १० रज जोडिन्।
दिल्लीकी मरिजान काप, जेस जोनासेन र श्री चरानीले समान दुई–दुई विकेट लिए।
प्लेयर अफ दि म्याच हरमनप्रित कौर हुँदा प्लेयर अफ दि सिरिज मुम्बईकै नाट सिभर ब्रुन्ट बनिन्। सिभरले प्रतियोगिताभर ५२३ रन र १२ विकेट लिइन्। उनी प्रतियोगिताको सर्वाधिक रनकर्ता समेत हुन्।
चैत ३, २०८१ आइतबार ०७:२७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।