‘नेता उत्पादक नर्सरी’मा दलको परीक्षा

काठमाडौं : बहुदलीय प्रतिस्पर्धामा विश्वास गर्ने दलहरूका लागि क्याम्पस भावी नेतृत्व निर्माणको उत्पादन भूमि बनेको छ। त्यसैले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनलाई राजनीतिको नर्सरी मानिन्छ।
अहिले देशभरका क्याम्पसहरूमा त्यही स्ववियुको चुनावको रौनक छ।
चैत ५ मा त्रिवि अन्तर्गत देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ। राजनीति दलहरूले स्ववियु निर्वाचनलाई आफ्नो शक्ति परीक्षणको रूपमा हेरेका छन्।
मतदानको मिति नजिकिएसँगै क्याम्पस परिसरमा निर्वाचन केन्द्रित गतिविधि बढेका छन्। उम्मेदवारहरूले चुनावी प्रचार तीव्र बनाएका छन्।
मुख्यगरी काठमाडौँको प्रदर्शनीमार्ग, बागबजार, पुतलीसडक, घण्टाघर क्षेत्रमा राजनीतिमा चासो राख्ने विद्यार्थीहरूको चहलपहल बाक्लो छ। यद्यपि, कतिपय ठुला मानिएका क्याम्पसमा भने विद्यार्थी, निर्वाचन समिति, क्याम्पस प्रशासनबीच मनमुटाव हुँदा निर्वाचन स्थगित समेत भएका छन्।
निर्वाचन निश्चित भएका काठमाडौँका क्याम्पसमा चुनावी रौनक तीव्र देखिन्छ। उम्मेदवार आफ्ना एजेन्डाहरू बोकेर विद्यार्थीमाझ पुगिरहेका छन्।
उपत्यका र उपत्यका बाहिरका केही क्याम्पसमा विवादका कारण तालाबन्दी र क्याम्पसमा तोडफोडले काठमाडौँका केही ठुला क्याम्पसमा चुनावी माहौल बिग्रिएको छ।
काठमाडौँको प्रदर्शनीमार्गमा रहेको रत्न राज्यलक्ष्मी(आरआर) क्याम्पसमा निर्वाचन प्रक्रिया सहज रूपमा भइरहेको निर्वाचन समितिका संयोजक प्राध्यापक महेश भट्टराईले बताए।
आरआर क्याम्पसमा प्रत्यक्षमा ८ ओटा र समानुपातिकमा १० ओटा संगठन दर्ता भएको उनले जानकारी दिए।
‘यहाँ ५ हजार १ सय ४६ मतदाता छन्। यही आधारमा सात वटा बुथ निर्माण गर्दैछौ। त्यसका लागि सर्वदलीय, सर्वपक्षीय बैठक बसेर छलफल गरिरहेका छौँ। सबै विद्यार्थी र सङ्गठनहरू बिच सहमति गरेका छौँ,’ उनले भने ‘मतपत्र गणनाका आधारमा मतपत्र कति खस्छ, धेरै खसे ढिला होला थोरै खसे छिटै मत परिणाम ल्याउँछौ।’
त्रिचन्द्र क्याम्पसका नेपाल स्वाभिमानी सङ्घका स्ववियु सभापतिका उम्मेदवार विवेक वाँनियाले त्रिचन्द्र उजाड बन्दै गएको र विद्यार्थीहरूको सङ्ख्या घट्दै गएको अवस्थामा यसको विकासको लागि आफूले उम्मेदवारी दिएको सुनाए।
‘त्रिचन्द्रमा धेरै विषयका पढाइ हुन्छन्। बिसिए, बिएस् सिआइटी जस्ता विषयहरू छन्। आइटी सम्बन्धी कोर्सहरू ल्याउन सक्यो भने धेरै राम्रो हुन्छ,’ उनले भने ‘यहाँ पार्ट टाइमका शिक्षकहरू छन् उनीहरूलाई करार गराउने वा व्यवस्थापन गर्नुपर्ने देखिन्छ।’
सभापतिका अर्का स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले निर्वाचनको भव्य तयारी भइरहेको बताए। उनले घण्टाघर र त्रिचन्द्र क्याम्पस जोड्ने पुल निर्माणको काम गर्ने योजना रहेको बताए।
संयुक्त अनेरास्ववियु प्यानलका सचिव सुमनकुमार पुलामीले विद्यार्थीहरूको मुद्दाहरूसँगै भूकम्पबाट जीर्ण बनेको क्याम्पस भवन निर्माणका लागि पहल गर्ने, बैंक काउन्टरको लागि काम गर्ने बताए।
चैत ५ मा शक्ति परीक्षण
चैत ५ मा हुने निर्वाचनमा अहिले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका विद्यार्थी सङ्गठनहरू नै सबैभन्दा धेरै सक्रिय देखिए।
निर्वाचनबाट शक्तिमा आएका राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूलाई स्ववियु निर्वाचन लागेको देखिँदैन। अधिकांश क्याम्पसहरूमा स्वतन्त्र उम्मेदवारीहरू भने परेका छन्।
त्रिबिले यही चैत ५ मा बिहान ८ देखि दिउँसो ४ बजेसम्मका मतदान समय तोकेको छ। निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ
मनीषा बस्नेत/ नेपाल न्युज बैंक
चैत २, २०८१ शनिबार २२:२८:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।