‘बिआरआईले पूर्वाधार मात्र होइन आर्थिक वृद्धिका नयाँ ढोकाहरू खोल्छ’

काठमाडौं : सभामुख देवराज घिमिरेले बेल्ट एन्ड रोड इनिसिएटिभ(बिआरआई)मार्फत नेपाल र चीन दुवै देशको सहकार्य अझै बलियो हुँदै गएको दाबी गरेका छन्।
शनिवार काठमाडौँमा बिआरआईबारे नेपालको सन्दर्भमा चीन र नेपालको तर्फबाट विज्ञ तथा प्राध्यापकहरू सम्मिलित बौद्धिक व्यक्तित्वहरूको सहभागितामा ‘काष्ठमण्डप डायलग’ सिरिजको पहिलो छलफल कार्यक्रममा उनले यस्तो दाबी गरे।
बिआरआई नेपालका लागि केवल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोकाहरू खोल्ने अवसरको रूपमा रहेको उनको दाबी थियो।
‘चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदार मुलुकको रूपमा रहँदै आएको छ। नेपाल सरकार र नेपाली जनता चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि आभारी रहेका छन्’ उनले भने।
बिआरआईमार्फत दुवै देशको सहकार्य अझै बलियो हुँदै गएको र यो नेपालका लागि पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोकाहरू खोल्ने अवसरको रूपमा लिनुपर्ने उनले बताए।
उनले नेपालको दिगो विकासको लागि पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक रहेको भन्दै नेपालमा रहेका लगानी र सम्भावनाहरूलाई पहिचान गरी बिआरआई अन्तरगत नयाँ परियोजनाहरूलाई प्राथमिकता दिनुपर्ने बताए।
सोही कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बिआरआईले नेपालमा पूर्वाधार निर्माण, विकास, व्यापार र आर्थिक विकासको लागि अवसर प्रदान गर्ने बताए।
नेपालका लागि चिनिया राजदूत चेङ् सोङ्ले बिआरआईको सम्झौतामा हस्ताक्षर भएको आठ वर्षपछि र कार्यान्वयनको लागि हस्ताक्षर गरेको तीन महिनापछि पनि नेपाली समुदायमा बिआरआईबारे अझै केही गलत बुझाई र शङ्काहरू रहेको बताए।
चैत २, २०८१ शनिबार १७:३५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।