अञ्जिला : आँशु रोक्न कठिन पार्ने अति भावुक तर अपूर्ण कथा

अञ्जिला : आँशु रोक्न कठिन पार्ने अति भावुक तर अपूर्ण कथा

सहायक पात्रहरूको चरित्र चित्रण र उमेर, पटकथा अनि छायाङ्कन र सम्पादनमा त्रुटिहरू भए पनि अभिनेता विजय बरालको बलियो अभिनयले यी सबै कमजोरी छायामा पर्यो फिल्म ‘पूर्ण बहादुरको सारंगी’ मा।

बाबु-छोराको भावुक कथाले हलका सिट दर्शकको आँसुले भिजे। त्यसको प्रतिफल पायो निर्माण टिमले। अकल्पनीय सफलता पायो फिल्मले। रेकर्ड नै रेकर्ड त बनायो नै अझैँ हलमा केही शो पाइरहेको छ फिल्मले।

बलियो फिल्म हुन कथा, पटकथा, त्यही अनुसार पात्र चयन र बलियो चरित्र चित्रण। त्यही अनुसार दृश्य भाषामा सर्लक्क कथा भन्न सक्ने खुबीसँगै छायाङ्कन, ब्याक ग्राउन्ड म्युजिक, संगीत लगायतका पक्ष सानदार हुनुपर्छ भन्ने मान्यता देखिन्छ।

फिल्मको कुनै-कुनै पक्ष फितलो भए पनि पात्रको अभिनय, संवाद र कथाको लयमा समस्या भएन भने पनि त्यसलाई दर्शकले मजाले स्विकार्ने रहेछन् भन्ने पुष्टि पनि गर्यो पूर्णबहादुरको सारंगीले।

फिल्म ‘अञ्जिला’ पनि समस्यारहित छैन। ‘पूर्णबहादुरको सारंगी’ मा देखिएका समस्याहरूसँग यसको तुलना गर्ने हो भने सङ्ख्यात्मक रूपमा बढी नै देखिन्छ यसमा।

तर सत्य कथा अनि सत्य कथामा वास्तविक पात्रलाई अभिनय गराएर निर्देशक मिलन चाम्सले पहिलो पटक भावनात्मक रूपमा बलियो फिल्म बनाए ‘अञ्जिला।’

जनरा भिन्न भए पनि फिल्म ‘अञ्जिला’ ले पनि अहिले हलका सिटहरू आँसुले भिजाइरहेका छन्। दर्शक हलबाट निस्कँदा राता आँखा लिएर निस्किरहेका छन्। ‘पूर्णबहादुरको सारंगी’ पछि दर्शकले धक फुकाएर हलमा आँशु बगाए यो फिल्ममा।

उनले यो फिल्ममा पनि आफ्ना विगतका फिल्मका समस्या मेट्न सकेका छैनन्। घटाएका भने छन्। तर कथा र पात्रको चयनमा पूर्याएको होसियारीले तमाम कमजोरी हुँदाहुँदै पनि फिल्मले दर्शकको मन चस्स छुन सफल छ। आँशु रोक्न हम्मे पारेको छ दर्शकहरूलाई।

नेपाली महिला फुटबल टिमको एकपछि अर्को सफलताकै बिचमा चाम्सले तेस्रो पटक बायोपिकमा फिल्म बनाउने निर्णय गर्दै कथा र पात्र छाने नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा।

उनले यस अगाडी निर्माण गरेको दुवै बायोपिक निर्देशक र व्यापार दुवै रूपमा कमजोर भयो। तेस्रोमा भने उनले बाजी मार्ने लक्षण ल्याए।

फुटबल खेलाडी बन्न एन्जिलाले इलामदेखि काठमाडौँसम्म गरेको सङ्घर्ष र त्यसले ल्याएको सुखद परिणामलाई उनले पर्दामा उतारेर दर्शकलाई भावुक बनाउन सफल भए।

अब लागौँ कथासार

इलामको एउटा गाउँमा मध्यमवर्गीय परिवारमा जन्मिएकी अञ्जिला जो कान्छी श्रीमती लिएर हिँडेपछि बाल्यकालमै बाबुहीन हुन्छिन्। छोरीको भविष्यका लागि श्रीमती हुँदाहुँदैको गाडी चालक चन्द्र कुमार राई (दयाहाङ राई) को दोस्रो श्रीमती हुन स्वीकार गर्छिन् आमाले।

अञ्जिलाको मन बाल्यकालमै बलसँग साटिएको हुन्छ। उता कान्छो बुबाको छोरी पनि फुटबल खेल्ने। एकदिन फुटबल खेल्दा अञ्जिलाको खुट्टा भाँचिन्छ। अनि कान्छा बुबा चन्द्रले फुटबल खेल्न रोक्छन्। फुटबलप्रतिको छोरीको मोह देखेर आमाले काठमाडौँमा रहेका आफन्तकोमा पठाउँछन्। उनको फुटबल खेलाडी बन्ने सपना पुरा हुन्छ कि हुन्न? यो फिल्मको सस्पेन्स हैन। किनकि यो सत्य घटनामा आधारित कथामा बनेको फिल्म हो। फिल्मको मुख्य पक्ष नै गाउँकी एक किशोरीले फुटबल खेलाडी बन्ने सपना पुरा गर्न कस्तो हन्डर र ठक्कर खान्छिन् ? यो नै फिल्मको मुख्य पक्ष हो।

कुनै रहस्यबिनाको कथामा फिल्म बनाउनु आफैँमा चुनौतीपूर्ण काम हो। त्यसमा निर्देशक एक हदसम्म सफल भएका छन्।

सफलतापछि समाजमा परिचित हुने पात्रहरूले त्यो सफलता पाउन कतिसम्म र कुन हदसम्मको सङ्घर्ष गरेको हुन्छ त्यो सधैँ लुक्ने गर्छ। समाजमा केवल सफलता मात्रै फैलिरहेको हुन्छ।

बाल्यकालमै बाबुले छाडेकी आमाले हुर्काउन गरेको सङ्घर्ष, फुटबल खेलाडी बन्ने सपना बोकेर काठमाडौँ छिर्दाको हन्डर र ठक्करबाट खारिएर मात्रै एन्जिला बल्ल नेपालको नम्बर वान गोलकिपर अनि नेपाली टिमको क्याप्टेन भएकी हुन्। उनको यो सङ्घर्ष यात्रालाई निर्देशकले निकै डिटेलका साथ देखाएका छन्।

एन्जिलाले वास्तविक जीवनमा गरेको सङ्घर्ष पर्दामा अञ्जिलाको रूपमा उतार्न नयाँ पात्रको सहयोग लिएनन् निर्देशकले। अभिनयबारे अनजान भए पनि वास्तविक पात्र एन्जिलालाई नै अभिनय गराए। यो अर्को सकारात्मक काम हो निर्देशकको।

जन्मदिने बाबु र कर्म दिने बाबुसँग सन्तानको भावनात्मक सम्बन्ध कुन तहको हुन्छ निकै भावुकताका साथ पस्किएका छन् चाम्सले।

सन्तान हुर्काउन आमाहरू कुन हदसम्मको सम्झौता गर्न तयार हुन्छन् भन्ने पक्षलाई पनि निर्देशकले छुटाएका छैनन् फिल्ममा।

उनले एन्जिलाको सङ्घर्षलाई मात्र केन्द्रमा राखेको भए फिल्म केही कमजोर बन्ने जोखिम थियो। त्यसमा उनले एन्जिलालाई सफल फुटबलर बनाउन उनको आमाले गरेको सङ्घर्षलाई पनि उत्तिकै स्थान दिए। यसले हलमा गएका सन्तानहरू त भावुक हुने नै भए, आमाहरू पनि भावुक भए।

जस्तोसुकै बाधा आओस् सपना पुरा गर्ने प्रयत्न छाड्न हुन्न भन्ने बलियो सन्देश दिन निर्देशक सफल छन्।

कलाकार छनोटमा पनि निर्देशकले निकै होसियारी अपनाए यो पटक। मूल पात्रमा मात्र केन्द्रित भएनन् उनी।

अन्जिलालाई जन्मदिने बुबाको भूमिकामा छन् मा‌ओत्से गुरुङ। दोस्रो बुबा चन्द्र साहु बनेका छन् ‘दयाहाङ राई। पात्रगत रूपमा यी दुवैको छनौटले फिल्मलाई बलियो बनाएको छ।

चन्द्र साहुको गाडीका ड्राइभर बनेका विजय बरालको अभिनयमा ‘लाज शरणम्’ को क्यारेक्टरको छाप देखियो। भावुक फिल्ममा हल्का हास्यरस मिसाउन निर्देशकले बरालको उपयोग गरेका छन्। तर त्यति मजा आउँदैन बराल पर्दामा आउँदा।

अन्जिलाकी आमा बनेकी सृजना सुब्बाको अभिनय निकै बलियो छ। श्रीमानबाट धोका पाएकी श्रीमती, सन्तानको भविष्यकै लागि दोस्रो श्रीमती हुन राजी भएकी महिला अनि आर्थिक रूपमा सक्षम नभए पनि सन्तानको सपना पुरा गर्न प्रतिबद्ध आमा। तीनै चरित्रमा फिट छिन् उनी।

फिल्ममा ‘अञ्जिला’ बनेकी एन्जिलामा रहेको अभिनयको ज्ञानको कमी दर्शकले अनुभव गर्छन्। तर यो उनको आफ्नै कथा हो भन्ने दर्शक पहिल्यै जानकार हुने भएकाले उनीसँगै पर्दामा एकाकार हुन्छन्। अञ्जिलाको पात्रमा सक्कली एन्जिला नभई कुनै व्यावसायिक कलाकारले अभिनय गरेको भए दर्शक यसरी एकाकार गाह्रै हुन्थ्यो। फिल्मको सबैभन्दा ठूलो कमजोरी यही बन्थ्यो। कथासँगै पर्दामा पनि सक्कली कलाकारै देखिँदा यो कमजोरी सर्लक्कै ढाकिन्छ।

निर्देशकले फिल्मको अन्त्य पनि निकै भावुकताका साथ अन्त्य गराएका छन्। यसमा उनले बढो मिठो चलेख्याई गरेका छन्। यो चलेख्याई काम पनि लाग्यो। फिल्ममा समावेश गीत ‘रात किन हुन्छ’ र अन्जिलाको कथामा ट्वाक्क मिलेको छ।

अब कमजोरीतिर लागौँ। फिल्मको दोस्रो हाफको तुलनामा पहिलो हाफ कमजोर छ। पात्रहरूको पृष्ठभूमि स्थापित गर्न निर्देशकलाई सकस पर्दा फिल्मको मूल पात्र को हो भन्नेमै दर्शक अलमलमा पर्छन्। करिब ३० मिनेट हेर्दा त लु साह्रै झुर फिल्म पो बनेछ भन्ने लाग्छ। दोस्रो हाफपछि फिल्ममा सक्कली एन्जिला ‘अञ्जिला’ को रूपमा हाबी हुन थाल्छिन्। अनि फिल्म रोचक बन्दै जान्छ।

फिल्मको सबैभन्दा कमजोर पक्ष पटकथामा देखिन्छ। कथा जुन रूपमा सशक्त देखिन्छ पटकथा त्यो रूपमा बलियो बन्न सकेको छैन। फुटबल खेल्न पात्रले गरेको बलियो सङ्घर्ष जब उनी क्लबमा आबद्ध हुन्छिन् फितलो हुँदै जान्छ। अञ्जिलाको सपना फुटबलर बन्ने मात्रै हैन, सफल फुटबल बन्ने पनि हो।

सफल फुटबलर बन्न व्यावसायिक रूपमा कतै आबद्ध हुँदैमा मात्र सफल हुन्न। शहर छिरेर जब उनी एपिएफ क्लबमा आबद्ध हुन्छिन् त्यसपछि उनी सहजै नेपालको राष्ट्रिय टिमकै कप्तान र नेपालको नम्बर वान गोलकिपर भएझैँ देखिन्छ फिल्ममा।

फुटबलर भएपछि क्याप्टेन र नम्बर वान गोलकिपर हुन गरेको सङ्घर्ष फिल्ममा गायब छ। भारतीय बक्सर मेरिकोमको बायोपिक फिल्म ‘मेरिकोम’मा प्रशिक्षक बनेका सुनिल थापा र सफल बक्सर बन्न मेरीकोमले गरेको सङ्घर्ष मजाले अनुभव हुन्छ फिल्ममा।

अञ्जिलामा पनि एन्जिलाको फुटबल कोचको रूपमा सुनिल थापा नै छन्। तर यी दुबैबीचको कनेक्सन बलियोसँग स्थापित हुन सकेको छैन फिल्ममा।

खेलाडी बन्न ‘अञ्जिला’ ले गरेको सङ्घर्षमा जति गहिरिएका छन् निर्देशक फुटबलर ‘अञ्जिला’ मा छुस्सछुस्स छोएको मात्र अनुभव हुन्छ।

खेलमा हुने विफलता र सफलतासँगै खेलाडीको मनोभावमा पर्ने प्रभावलाई निर्देशकले पुरै बेवास्ता गरेको अनुभव हुन्छ।

फिल्मको अर्को कमजोरी भनेको छायाङ्कनमा देखियो। दृश्यहरू ब्लर देखिन्छन् केही ठाउँमा। दृश्यको गुणस्तर पनि कमजोर देखिन्छ। ब्याक ग्राउण्ड म्युजिक ठिकै छ।

बायोपिकमा आधारित फिल्म निर्देशनको चुनौतीहरूमा भावनात्मक प्रभाव, कथाको विश्वसनीयता, कथा र सङ्घर्षको सशक्त प्रस्तुति, सहायक पात्रहरूको सबल अभिनय, सन्देशमूलक कथा, बहुआयामिक कथा र कलाकारहरूको उपयुक्त छनोटलाई मान्न सकिन्छ।

यो मापनमा अञ्जिलालाई राखेर हेर्ने हो भने सफल फिल्म देखिन्छ। फिल्मले दर्शकहरूलाई भावुक बनाउन सफल भएको छ। निर्देशकले वास्तविक एन्जिला तुम्बापो सुब्बालाई नै फिल्ममा अभिनय गराएकाले फिल्मको कथाको सत्यतामा शङ्का भएन।

एन्जिलाको फुटबल खेलाडी बन्ने यात्रा र त्यसका लागि गरिएको सङ्घर्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ। विशेष गरी दयाहाङ राई र सृजना सुब्बाको अभिनयले कथालाई बलियो बनाएको छ। जस्तोसुकै बाधा आओस् तर सपना पुरा गर्ने प्रयत्न छाड्न हुन्न भन्ने बलियो सन्देश दिएको छ।

फिल्मले केवल एन्जिलाको सङ्घर्ष मात्र समेटेन, आमाको सङ्घर्ष र बलिदान, पारिवारिक सम्बन्धको जटिल पक्ष समेत देखायो। कलाकार छनोटमा विशेष होसियारी अपनाएको अनुभव हुन्छ। वास्तविक एन्जिलाका आमा, बाबु, कान्छा बाबु बनेका पात्रहरू वास्तविक लाग्छन्।

कमजोर पटकथा, फितलो पहिलो हाफ, छायाङ्कनमा त्रुटि  र फुटबलर बन्ने यात्रामा सङ्घर्षको अपुरो कथा जस्ता कमजोरी भए पनि समग्रमा फिल्मको भावनात्मक प्रभाव र प्रस्तुतिले यी कमजोरीहरू छोपिएका छन्।

कसैको जीवन कथामा फिल्म बनाउँदाको सबैभन्दा कठिन पक्ष वास्तविकता र कलात्मकताबीच सन्तुलन कायम गर्नु नै हो। कथाको वास्तविक पात्रलाई नै अभिनय गराएका निर्देशक चाम्स यो पटक बायोपिक विधामा सफल देखिए।

चैत २, २०८१ शनिबार १६:२६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।