डा. कोपिलाको उपचार अनुभव : सात वर्षे बेहोस छोरा च्यापेर विदेशी महिला चिच्याउँदै आयुर्वेद औषधालय छिरेपछि...

डा. कोपिलाको उपचार अनुभव : सात वर्षे बेहोस छोरा च्यापेर विदेशी महिला चिच्याउँदै आयुर्वेद औषधालय छिरेपछि...

डा. कोपिला अधिकारी आयुर्वेद चिकित्सक हुन्। विशेषगरी आयुर्वेदिक चिकित्सा विधि तथा पद्धति अपनाई बिरामीलाई औषधि उपचार गरी सञ्चो बनाउनु उनको दैनिकी हो। उनै डा. कोपिलाले चिकित्सकीय पेशाको शिलशिलामा देखे भागेका अनुभव उकेरासँग साटेकी छन्।

सात वर्षे बेहोसी छोरा च्यापेर विदेशी महिला चिच्याउँदै आयुर्वेद औषधालय छिरेपछि...
करिब १३ वर्षअघि रातीको करिब दश बजेको थियो। एक जना करिब ३५ वर्षकी देखिने ‘गोरी’ विदेशी महिला रुँदै करिब सात वर्षको छोरालाई च्यापेर ‘गण्डकी आयुर्वेद औषधालय’ पुगिन्। असाध्यै पीडादायक अवस्थामा देखिएकी ती महिला रुँदै ‘ओ माई गड, माइ सन्...’ भन्दै औषधालय छिरिन्। ती महिलासँगै एक जना पुरुष पनि थिए।

औषधालयको क्वाटरमा नै बसेकी डा. कोपिलाले ती विदेशी महिलाको सात वर्षीय छोराको स्वास्थ्य अवस्था हेरिन्। बालक अर्धचेतन अवस्थामा थिए। उनले ती बालकको स्वास्थ्य जाँच गरिन्। स्वास्थ्य जाँच गर्दा ती बालकलाई अन्य शारीरिक रोग नभई ‘मानसिक समस्या’ भएको थाहा भयो। बालकलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था देखिएन।

त्यसैले डा.  कोपिलाले ती विदेशी महिलालाई ‘योर सन् ह्याज अ मेन्टल प्रब्लम। डन्ट वरी’ भन्दै सम्झाइन्। ती विदेशी महिलालाई सम्झाउँदै उनले अर्धचेतन अवस्थामा पुगेका बालकको उपचार थालिन्।

‘टच हिलिङ थेरापी’ गरिन्। बालकको टाउकोमा चिसो पानीमा कपडा भिजाएर बाँध्ने ‘शीतल चिकित्सा’ लगायतको उपचार विधि गरिन्। आमालाई टाढा राखेर बालकलाई आराम गराइन्। केही आयुर्वेद औषधि दिइन्।

केहीबेरको औषधि उपचारपछि त बालक उठेर खेल्न थालिहाले। एकै छिन अघिसम्म बेहोस छोरा उपचारपछि ठीक भएर खेल्न थालेपछि ती विदेशी महिलालाई चमत्कारै जस्तो भयो।

अनि छोरो सञ्चो बनाइदिने डा. कोपिलाप्रति ती महिला असाध्यै कृतज्ञ भइन्। धन्यवाद दिइन्। छोरा ठिक भइसकेपछि डा. कोपिलाले ती युरोपियन महिलालाई ‘किन अन्य अस्पताल नलगेर आयुर्वेदिक अस्पताल नै ल्याउनुभएको? भनेर सोधिन्। जवाफमा ती महिलाले बिरामी पर्दा ठिक हुने अवस्थासम्म आयुर्वेदिक अस्पताल नै जाने गरेको सुनाइन्।

छोरा ठिक भएपछि ती विदेशी महिला राती करिब एक बजेतिर अस्पतालबाट घर फर्किइन्। घर फर्कने क्रममा ती महिलाले सञ्चो बनाइदिने धन्यवाद दिएको त्यो क्षणको डा. कोपिला शब्दमा वर्णन गर्न सक्दिनन्।

त्यतिमात्रै कहाँ हो र! भोलिपल्ट विहान नै फेरि ती विदेशी महिला ‘गण्डकी आयुर्वेद औषधालय’मा डा. कोपिलालाई भेट्न पुगिछन्। अनि फेरि धन्यवाद दिँदै ती महिलाले एउटा सुन्दर ‘पर्स’ उपहार दिएर फर्किइछन्। त्यसपछि लामो समय ती विदेशी महिला डा. कोपिलाको सम्पर्कमा थिइन्। केही वर्ष यता भने सम्पर्कमा नभएको उनले सुनाइन्।

आयुर्वेदिक उपचारमा आउनेमध्ये ९० प्रतिशतभन्दा बढी बिरामी ‘विदेशी’
डा. कोपिला बीएएमएस अध्ययन पूरा गरेपछि एक निजी अस्पताल (आयुर्वेद हेल्थ होम)मा करिब तीन वर्ष काम गर्दाको अनुभव कहिल्यै भुल्दिनन्। प्रसङ्ग करिब १५ वर्षअघिको हो। त्यो बेला अनौठा-अनौठा रोगको समस्या भएर विदेशी बिरामी आयुर्वेद उपचारका लागि नेपाल आएको उनी सम्झन्छिन्।

विशेषगरी छाला चिलाउने तथा पोल्ने (सोरियासिस) र ‘एक्जिमा’ जस्ता छालाजन्य समस्या, बाथ, अल्जाइमर्स, तनाव, मोटोपनको समस्या भएका विदेशी बिरामी उपचारकै लागि नेपाली आएको डा. कोपिलालाई सम्झना छ। सुरूमा त उपचारकै लागि विदेशी बिरामी आएको देख्दा उनलाई अच्चम्म लाग्थ्यो।

‘विदेशीहरू उपचारको लागि नै नेपाल आउनुहुन्थ्यो’, उनले सुनाइन्।

त्यो निजी आयुर्वेद अस्पतालमा काम गर्दा ९० प्रतिशत भन्दा धेरै विदेशी बिरामी नै आयुर्वेदिक उपचारका लागि आएको डा. कोपिलालाई सम्झना छ। आयुर्वेदमा पञ्चकर्म उपचारात्मक विधि लोकप्रिय छ। विशेषगरी यो उपचार विधिले धेरै विदेशी बिरामीहरू ठिक भएर फर्किएको उनी सम्झिन्छिन्।

विशेषगरी युरोपको अष्ट्रेलिया, जापान, चीन र युरोपेली देशहरूबाट समेत  उपचारका लागि नेपाल आएको उनलाई सम्झना छ।

त्यहाँ विशेषगरी पञ्चकर्मका शिरोधारा, कटी बस्ती, जानु बस्ती, ग्रीवा बस्ती, नस्य, एकाङ्ग तथा सर्वाङ्ग स्वेदन र बस्ती तथा विरेचनजस्ता उपचारात्मक विधि अपनाई विदेशी बिरामीको उपचार गरेको सम्झिन्छिन् उनी।

काय चिकित्सा, अकुपञ्चर, स्त्री तथा कौमारभृत्य, सत्वावजय चिकित्सा, फिजियोथेरापीजस्ता उपचारात्मक सेवाप्रति विदेशीको आकर्षण रहेको उनले सुनाइन्। त्यसैगरी क्षारसूत्र विधि, जलौका, योग, मर्मचिकित्सा जस्ता आयुर्वेदका उपचार विधि र पद्धति पनि आयुर्वेदका लोकप्रिय उपचारात्मक विधि हुन्।

बात, पित्त र कफजस्ता त्रिदोषलाई ध्यान दिएर आयुर्वेद उपचार विधि अपनाउनुपर्ने हुन्छ। उनले आयुर्वेदका यस्तै उपचारात्मक विधि अपनाई हजारौं बिरामीलाई ठिक बनाएकी छन्। जुन उनको चिकित्सकीय धर्म र कर्म हो। त्यो बेला महङ्गो पैसा तिरेर विदेशीहरूले पञ्चकर्म सेवा लिन नेपाल आएको उनलाई सम्झना छ।

अहिले पनि विदेशीहरू आयुर्वेदिक उपचारका लागि नेपाल आउने गरेको उनले सुनाइन्। आयुर्वेदिक उपचार विधिका बारेमा नेपालीलाई भन्दा विदेशीलाई बुझाउन समेत सहज हुने डा. कविताको अनुभव छ। वास्तवमा नै आयुर्वेद तथा पूर्वीय चिकित्सा पद्धति नेपालमा ‘स्वास्थ्य पर्यटन’ आकर्षित गर्ने उचित चिकित्सा पद्धति भएको भएको डा. कोपिलाको तर्क छ।

ती महिलाको उपचार
त्यसो त डा. कोपिला कास्कीको पोखरास्थित तत्कालीन ‘गण्डकी आयुर्वेद औषधालय’मा काम गर्दा नै म्याग्दीको एउटा आयुर्वेद फार्मेसीमा बिरामीको उपचार गरेको प्रसङ्ग कहिल्यै भुल्दिनन्। त्यो बेला रक्तश्रावको समस्या भएकी करिब ४० वर्षकी महिलाको उपचार गरेको प्रसङ्ग उनी सम्झन्छिन्।

ती महिला केही महिनादेखि रक्तश्रावको समस्याले पीडित थिइन्। उपचारका लागि फार्मेसीमा पुगेकी ती महिलाको डा. कोपिलाले आयुर्वेदिक विधि अपनाई औषधि उपचार गरिन्। अनि पोखरा फर्किइन्।

तीन दिनपछि आयुर्वेदिक फार्मेसिस्टमार्फत ती महिलाले ‘मेरो समस्या ठिक भयो, डाक्टर नानीलाई भनिदिनु है’ भन्दै उनलाई खबर पठाइछन्। दुर्गमकी ती महिलाले उपचारको पहुँचको अभावमा उपचार नै नपाएको र उपचारपछि ठिक भएको सम्झिन्छिन्, डा. कोपिला।

त्यो बेला पुरुष डाक्टरलाई महलाका महिलाजन्य समस्या भन्न नचाहँदा कयौँ महिला बिरामीले रोग पालेर बसेको उनलाई याद छ। यो समस्या कम हुँदै गए पनि निर्मूल नभएको उनले सुनाइन्।

आयुर्वेदको डाक्टर बन्ने रहर
लमजुङको दोर्दी गाउँपालिका-१ मा २०३८ मा जन्मिएकी कोपिलाले पाँच कक्षासम्म स्थानीय महादेव प्राथमिक विद्यालयमा पढिन्। त्यसपछि उनी काठमाडौं आइन्। अनि ६ कक्षामा काठमाडौंको लैनचौरस्थित कन्या माविमा भर्ना भएर पढ्न थालिन्। त्यहीँबाट उनले २०५३ मा एसएलसी गरिन्। कोपिलाले लैनचौरकै ‘नेश्नल स्कुल अफ साइन्स (निष्ट कलेज)बाट प्लस टु गरिन्।

प्लस टुपछि कोपिलालाई आयुर्वेदकै डाक्टर बन्ने इच्छा थियो। त्यसैले उनले प्लस टुपछि आयुर्वेदिक चिकित्सकीय विधा अध्ययनका लागि छनोट परीक्षाको तयारी गरिन्। दोस्रो पटकको छनोट परीक्षामा उनी आयुर्वेदिक डाक्टरी विषय अध्ययनका लागि छनोट भइन्।

कोपिला त्रिभुवन विश्वविद्यालय अन्तर्गत ‘आयुर्वेद क्याम्पस’मा २०५७ मा आयुर्वेदिक चिकित्सा विषय ‘ब्याचलर्स अफ आयुर्वेद मेडिसिन एण्ड सर्जरी (बीएएमएस)’ अध्ययनका लागि भर्ना भइन्। त्यो बेला नरदेवीस्थित हालको आयुर्वेद चिकित्सालयमा नै अध्ययन हुन्थ्यो। उनले २०६२ मा बीएएमएस अध्ययन पूरा गरिन्।

बीएएमएस अध्ययन गरेपछि डा. कोपिलाले एक निजी अस्पताल (आयुर्वेद हेल्थ होम) मा करिब तीन वर्ष काम गरिन्।

‘डाक्टर नानी’
करिब तीन वर्ष निजी आयुर्वेदिक अस्पतालमा काम गरेपछि डा. कोपिला लोकसेवामार्फत २०६६ मा आयुर्वेदिक चिकित्सकका रुपमा आठौं तहको सरकारी स्थायी जागिरमा प्रवेश गरिन्।

उनी आयुर्वेदिक चिकित्सकका रूपमा स्थायी सरकारी जागिरे भएपछि पोष्टिङ भएर कास्कीको पोखरास्थित तत्कालीन ‘गण्डकी आयुर्वेद औषधालय’मा पुगिन्। उनले त्यहाँ औषधालयको प्रमुखकै भूमिकामा रहेर करिब दुई वर्ष काम गरिन्।

पोखरामा काम गर्दा बिरामीहरूले भन्ने गरेको केही कुरा सम्झन मन लाग्छ, उनलाई। त्यो बेला बिरामीहरू ‘एउटी सानी-सानी डाक्टर नानी आएकी छन् रे, राम्रो उपचार गर्छिन् रे, ती नानी कता छिन्?’ भन्दै उनीकहाँ उपचारका लागि पुग्थे रे। त्यो सम्झँदा अझै उनलाई रमाइलो लाग्छ।

पोखरापछि डा. कोपिला सरुवा भएर २०६८ मा काठमाडौंको नरदेवी ‘आयुर्वेद चिकित्सालय’ आइन्। २०७२ सम्म करिब चार वर्ष उनले त्यहीँ काम गरिन्। डा. कोपिलालाई थप अध्ययन गर्नु त छँदै थियो। उनलाई भारतमा नै गएर एमडी अध्ययन गर्न मन लागेको थियो। नभन्दै उनलाई भारतमा नै छात्रवृत्ति कोटामा थप अध्ययन गर्ने मौका मिल्यो।

डा. कोपिला २०७२ मा भारतको बैंलोरस्थित राजीव गान्धी विश्वविद्यालय अन्तर्गत ‘एसडिएम कलेज अफ आयुर्वेदा एण्ड हस्पिटल’मा स्नातकोत्तर तहको आयुर्वेद विषय अध्ययनका लागि भर्ना भइन्। त्यहाँ उनले स्नातकोत्तर तहको ‘द्रव्य गुण विज्ञान’ विषयमा तीन वर्षे ‘एमडी’ अध्ययन गरिन्।

तीन वर्षे एमडी अध्ययन सकेर २०७५ मा नेपाल फर्किएर डा. कोपिला नरदेवीमा नै काम गर्न थालिन्। त्यसपछि २०७६ मा समायोजन भएर उनी बागमती प्रदेश अन्तर्गत चितवनको रत्ननगर पुगेर हालको ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सालय’मा प्रमुखको भूमिकामा रहेर काम गर्न थालिन्। हाल उनी त्यहीँ प्रमुखको भूमिकामा नै कार्यरत छिन्।

डा. कोपिला पुग्दा चितवनको रत्ननगर पुग्दा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा ओपिडी सेवा मात्रै हुन्थ्यो। पुरानो अनि सानो भवन थियो। अहिले ओपिडिमा दैनिक करिब एक सय बिरामी पुग्ने गरेको उनले सुनाइन्। नयाँ भवन बनेपछिको २५ बेडको यो चिकित्सालयमा बिरामी भर्ना (आईपीडी) गरेर पनि उपचार गर्ने  व्यवस्था सुरू भएको डा. कोपिलाले सुनाइन्।

आयुर्वेदका विभिन्न चिकित्सकीय पद्धति तथा विधि अपनाई बिरामीको उपचार गर्छिन्, उनी। मालिस गर्ने, वाफ दिने, शिरोधारा, दुखाई व्यवस्थापनका लागि पत्र पिण्ड स्वेदन, मात्रा बस्ती, कटी बस्ती, जानु बस्ती, ग्रीवा बस्ती, अकुपञ्चर, फिजियो थेरापी गर्न मात्रै दैनिक करिब ६० जना बिरामी भन्दा बढी बिरामी उनी कार्यरत औषधालयमा पुग्ने गरेको डा. कोपिलाले सुनाइन्।

चैत २, २०८१ शनिबार १४:४१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।