बाँकेको बाल सुधार गृहबाट २५५ जना निस्किएपछि डेढ किलोमिटरसम्म प्रहरीको भागाभाग

बाँके : बाँकेको डुँडुवा गाउँपालिका-७ अस्मानपुरमा अवस्थित जयन्दु बाल सुधारगृहमा होली मनाउने विषयलाई लिएर दुई समूहबीच झडप भएको छ।
दुई समूहबीच हिजो दिउँसो झडप भए पनि राति सुतेको बेला अर्को पक्षले खुकुरीले आक्रमण गरेपछि अवस्था झन् तनावग्रस्त बनेको हो। खुकुरी प्रहारबाट छ जना बाल सुधार गृहका बालबालिका र तीन जना प्रहरी घाइते भएका छन् भने घाइतेहरुको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
रातिदेखि नै अशान्त रहेको बाल सुधार गृहमा विहान आगजानी र तोडफोड समेत भएको छ। तोडफोडपछि त्यहाँ रहेकामध्ये २५५ जना भन्दा बढी बाहिर निस्किएको सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए।
उनका अुनसार बाहिर निस्किएकाहरुले सुधार गृह आसपासका पसलमा तोडफोड र लुटपाट गर्नुका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई एक किलोमिटरसम्म लखेट्दा सुरक्षाकर्मीहरुको भागाभाग भएको थियो।
घटनाबारे जानकारी दिँदै खत्रीले भने, ‘उनीहरू २५५ जना रहेछन्, प्रहरी जम्मा १२ जना त्यो पनि हतियारविना अनि भागभाग भएको हो।’
पसलमा तोडफोड र लुटपाटपछि प्रहरीलाई लेखेटेको समूह पुनः सुधार गृहभित्र पसेपछि उनीहरूले आफैँ आगजनी गरेको सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए।
‘अहिले हामीले ब्याकअप पनि मगाएर काम गरिरहेका छौँ, अवस्था नियन्त्रणमा आइसकेको छ,’ उनले थपे, ‘आगजनी भएको सुधारगृह भएकाहरूलाई उद्धार गर्ने क्रम जारी छ।’
अस्मानपुरमा घटना भए पनि सँगैको सुन्दरपुर गाउँका स्थानीयले पनि असुरक्षित महसुस गरिरहेका छन्। सुरक्षाकर्मीकै अगाडि गाउँबस्तीमा लुटपाट हुन थालेपछि स्थानीयहरु त्रसित बनेका छन्। उनीहरुले सुधार गृह नै हटाउनुपर्ने समेत माग गरेका छन्।
चैत २, २०८१ शनिबार १३:४७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।