गैरीगाउँ पेट्रोलपम्प नजिक मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

गैरीगाउँ पेट्रोलपम्प नजिक मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं : काठमाडौं महानगरपालिका-३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
 
बिहान ४ः३० बजे प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

उपचारका क्रममा बिहान ५ः३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको हो।

उपरीक्षक बोहराका अनुसार ट्रिपर गौशालातर्फ फरार भएकोमा खोजतलासका क्रममा रा १ ख २६२२ नम्बरको ट्रिपर विमानस्थलको कार्गोभित्र फेला पारी नियन्त्रणमा लिएको तर चालक फरार रहेका छन्।

सो दुर्घटनामा मोटरसाइकलमै सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएको र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चैत २, २०८१ शनिबार १३:१७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।