फिल्म रिलिजको डेढ हप्तापछि सेन्सर बोर्डले काट्न लगाएको थियो ‘छक्का पञ्जा ४’को यो डाइलग

फिल्म रिलिजको डेढ हप्तापछि सेन्सर बोर्डले काट्न लगाएको थियो ‘छक्का पञ्जा ४’को यो डाइलग

काठमाडौं : निर्माता तथा कलाकार दीपकराज गिरीले ‘छक्का पञ्जा ४’ फिल्म रिलिज भएको डेढ हप्तापछि सेन्सर बोर्डले फिल्मको डाइलग काट्न लगाएको खुलासा गरेका छन्।

शुक्रबार थापागाउँको मण्डला थिएटरमा सेन्सरबोर्डमा देखिएको निरङ्कुशताको विषयमा भएको अन्तर्क्रियामा निर्माता गिरीले यसको खुलासा गरेका हुन्।

पछिल्लो समय सामान्य दृश्यलाई पनि सेन्सर बोर्डले काट्न दबाब दिएको उल्लेख गर्दै उनले त्यहाँ बसेको पदाधिकारीहरुकै योग्यतामाथि प्रश्न उठाए।

‘छक्का पञ्जा ४को समयमा त पराकाष्ठा नै भयो। डेढ हप्ता सिनेमा प्रदर्शन भएपछि मन्त्रालय बोलाएर जबरजस्ती डाइलग काट्न लगाइयो’, उनले भने।

फिल्ममा बैंक र सहकारीबीच तुलना गरिएको डाइलग थियो, ‘श्रीमती भनेको बैंक हो र गर्लफ्रेन्ड भनेको सहकारी, सहकारी जुनसुकै समयमा पनि भाग्न सक्छ।’

प्रदर्शनको डेढ हप्तापछि सञ्चार मन्त्रालयलमा बोलाइँदा सांसदहरुसहित सहकारीका ५० जनाभन्दा बढी मानिस रहेको उनले सुनाए। आफूले त्यहाँ ‘सत्य कुरा पनि बोल्न नपाइने?’ भनेर प्रश्न गर्दा आफूलाई सेन्सर बोर्डले जबरजस्ती दृश्य काट्न लगाएको उनको भनाइ छ।

‘मैले सेन्सर बोर्डलाई प्रश्न गरेँ– ‘तपाईंले यो पास गरेको हैन?’ तर पनि उहाँहरूले तपाईंको यो दृश्य रिभाइजमा पर्यो भनेर जबरजस्ती काट्न लगाउनुभयो।’

त्यसअघि फिल्म ‘वडा नम्बर छ’को सेन्सरको क्रममा पुलिसलाई ढुंगा हान्ने दृश्यमा गृह मन्त्रालयका प्रतिनिधिले काट्न लगाएको उनको भनाइ छ।

लेखक तथा निर्माता गिरीले हरेक पटक सेन्सरमा सिनेमा काटिँदा सिर्जना गर्ने कलम नै सङ्कुचित हुने भन्दै फिल्म सम्बन्धी ज्ञान नभएका र अयोग्यहरुबाट फिल्मको सेन्सर हुने गरेकोमा दुःख व्यक्त गरे।

उनले सेन्सर बोर्डको गठन प्रक्रिया नै गलत भएको भन्दै त्यहाँ बसेका चलचित्रकर्मीहरूले सहायक पात्रको भूमिमा मात्र निभाइरहेको आरोप लगाए।

‘सेन्सर बोर्डमा रहेका चलचित्रकर्मीहरू सहायक पात्रमा मात्र हुनुहुन्छ,’ उनले भपे, ‘कुनामा बसेर सर मेरो पनि त्यही विचार हो मान्दैन भन्नुहुन्छ। उहाँहरूको खासै भूमिका हुँदैन। चलचित्र बुझेकाहरूको भूमिका दबिएको हुन्छ त्यहाँ।’

अति संवेदनशील कुरा बाहेक केही पनि चिज सेन्सरमा नपर्नुपर्नेमा त्यसो नभइरहेकोमा उनले दु:ख व्यक्त गरे।

चैत २, २०८१ शनिबार ११:१२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।