अमेरिकाले निकाल्यो दक्षिण अफ्रिकी राजदूत

एजेन्सी : अमेरिकाले दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसूललाई निष्कासन गरेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकी राजदूतलाई अमेरिका र ट्रम्पलाई ‘घृणा’ गरेको आरोप लगाउँदै निष्कासन गरिएको जानकारी दिएका छन्।
‘हाम्रो महान देश संयुक्त राज्य अमेरिकामा अब दक्षिण अफ्रिकी राजदूतलाई स्वागत छैन,’ मार्को रुबियोले ट्विटरमा लेखेका छन्, ‘इब्राहिम रसूल एक जातिवादी राजनीतिज्ञ हुन् जसले अमेरिका र अमेरिकी राष्ट्रपतिलाई घृणा गर्छन्।’
रुबियोले राजदूत रसूलसँग केही पनि कुरा गर्नु भएको भन्दै उनी अमेरिकाका लागि अस्वीकार्य भएको बताएका छन्।
अमेरिका र दक्षिण अफ्रिकाबीच बढ्दो तनावका बीच अमेरिकाले यो कदम चालेको हो। फेब्रुअरीको सुरूमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको अमेरिकी सहयोग रोकेका थिए।
दक्षिण अफ्रिकामा गोरा किसानहरूको जग्गा ‘जफत’ गर्न सकिने कानूनप्रति अमेरिकी राष्ट्रपति ट्रम्पले असहमित जनाउँदै आएका थिए। गत हप्ता, ट्रम्पले दक्षिण अफ्रिकी किसानहरूलाई अमेरिकामा बसोबास गर्न स्वागत गरिने भन्दै तनावलाई अझ बढाएका थिए।
ट्रम्पले ट्रुथ सोसलमा लेखेको पोस्टमा भनेका छन्, ‘सुरक्षाको कारणले देश छोड्न चाहने कुनै पनि दक्षिण अफ्रिकी किसान (परिवार सहित)लाई नागरिकतासहित संयुक्त राज्य अमेरिकामा आमन्त्रित गरिनेछ।’
चैत २, २०८१ शनिबार ०९:१९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।