स्वास्थ्य मन्त्री पौडेलको कार्यकालमा कर्मचारीलाई टिक्नै कठिन, पाँच महिनामै दोस्रो पटक निकालियो सरुवा सूची

स्वास्थ्य मन्त्री पौडेलको कार्यकालमा कर्मचारीलाई टिक्नै कठिन, पाँच महिनामै दोस्रो पटक निकालियो सरुवा सूची

काठमाडौंः स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको प्रमुख रहेका श्रीराम तिवारीको सरुवा गर्दै भक्तपुरस्थित राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशकमा सरुवा गरे। करिब पाँच महिना अगाडि मन्त्री पौडेलले गजेन्द्र नारायण सिंहमा रहेका डा. नागेश्वर प्रसाद यादवलाई हटाउँदै डा. तिवारीलाई पठाएका थिए।

उनी मन्त्री भएको आठ महिना भयो। आठ महिनामा उनले दोस्रो पटक कमर्चारीहरुको सरुवाको निर्णय गरे। क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठलाई वीर अस्पतालमा काज फिर्ता गरेका छन्। उनी  २१ महिनादेखि केन्द्रको निर्देशक थिए। श्रेष्ठको सरुवा सामान्य नै देखियो। तर तिवारीको सरुवामा पाँचै महिनामा गरे।

उनले गजेन्द्र नारायणको प्रमुखमा डा. प्रकाश प्रसाद साहलाई पठाए। सरुवाको निर्णय मिति फागुन २७ राखिएको छ। साहलाई रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारी समेत दिएर सरुवा गरिएको हो।

डा. साह यसअघि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक थिए। साहको सरुवा गरे पनि पौडेलले बाँकेमा नयाँ निर्देशक पठाएका छैनन्।

मन्त्री पौडेलले केही दिन अघि मात्रै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकबाट डा. यदुचन्द्र घिमिरेको सरुवा निकालेर हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रमुखमा पठाएका थिए। महाशाखाको निर्देशक डा. चन्द्रभाल झा आएका थिए।

तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप यादवले जेठमा डा. घिमिरेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक बनाएका थिए। उनी सरुवा भएको एक वर्ष पनि पुगेको छैन।

यो बिचमा उनले टंक बाराकोटीलाई स्वास्थ्य सेवाको महानिर्देशकमा नियुक्त गरे। विभागका महानिर्देशक रहेका विकास देवकोटा सचिवमा बढुवा भएपछि त्यहाँ रिक्त थियो। तीन दिन अगाडिबाटै बाराकोटी महानिर्देशकमा नियुक्त भएको दाबी सार्वजनिक भएको थियो। तर उनले शुक्रबारमात्रै सरुवाको पत्र पाएर पदभार ग्रहण समेत गरे।

चैत १, २०८१ शुक्रबार २३:३४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।