‘कर्मा’मा फरक देखिए विपिन, मुकुनको सरप्राइज क्यारेक्टर
काठमाडौं : फरक गेटअप अभिनेता विपिन कार्कीका लागि नौलो हैन। प्राय फिल्महरूमा उनी फरक शैलीको गेटअपमा देखिने गरेका छन्। तर सबै गेटअपले उनलाई साथ दिएन। भष्मे डनको गेटअप हिट भयो। तर त्यसैको सिक्वेल भने फ्लप समान।
विपिनको अभिनयमा खोट लगाउने ठाउँ देखिन्न। तर चरित्रगत समस्या भने देखिन्छ। चरित्रमा पनि उनी सकारात्मक भूमिकामा अधिक देखिँदै आएका छन्। केहीका नकारात्मक भूमिकामा पनि अभिनय गरे।
फरक चरित्रको अभ्यास गर्नेक्रममा उनी फिल्म ‘कर्मा’सँग जोडिए। प्रारम्भमै विपिन एक्सन अवतारमा देखिने सार्वजनिक भयो। विपिन अनि एक्सन! शङ्का हुने नै भयो।
फिल्मको फस्टलुकदेखि शुक्रवार सार्वजनिक भएको टिजरसम्म आइपुग्दा भने उनी चरित्र अनुसार फिट देखिएका छन्।
टिजरमा सेटअप र पुसअप गर्दै गरेको दृश्य राखिएको छ। टिजरमा देखिएको विपिनको बडी स्टक्चर हेर्दा उनले व्यायामशाला राम्रै पसिना बगाएको देखिन्छ।
यो फिल्मको अर्को सर्प्राइज रूपमा देखिए मुकुन भुसाल। उनी सामान्य चरित्रहरूमा देखिँदै आएकोमा कर्मामा भने भिलियनको रूपमा देखिए टिजरमा। अर्थात् मसल्सम्यान बनेका विपिनको प्रतिस्पर्धी।
उपासना सिंह ठकुरी, दिव्य देव, सरिता गिरी लगायतका कलाकारको अभिनय रहेको यो फिल्म सौरभ चौधरीले निर्माण गरेका हुन्।
एक सामान्य युवा परिबन्दमा परेर कसरी अपराधको दुनियाँमा पुग्छ भन्ने फिल्मको मुख्य स्टोरी लाइन देखियो टिजरमा। टिजरमा बढो चलाखीका साथ दृश्यहरू समेटिएको छ। फिल्मको नामले यो व्यक्ति प्रधान कथामा केन्द्रित रहेको देखाउँछ।
सौरभले अगस्त्य फिल्मबाट एक्सन जनरामा राम्रै सम्भावना देखाएका थिए। तर स्टोरीको ल्यान्डिङ गर्न नसक्दा सोचेजस्तो सफल भएन त्यो फिल्म। विपिन लिएको फिल्ममा उही समस्या त नहोला नि!
चैत १, २०८१ शुक्रबार १८:१७:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।