महिला टी-२० मा नेपालले हङकङलाई हराएर सान्त्वना जित निकाल्यो

काठमाडौँ : युगान्डामा जारी महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेर सान्त्वना जित निकालेको छ। प्रतियोगिताको ६ खेलमा नेपालको यो दोस्रो जित हो।
युगान्डाको इन्टेबे क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो।
नेपालले १९ दशमलव ३ ओभरमा चार विकटको क्षतिमा १०५ रनको विजयी लक्ष्य पूरा गर्यो। नेपालका लागि सम्झना खड्काले ४७ रन बनाइन्। उनले ४३ बल खेल्ने क्रममा तीन चौका हानिन्। यस्तै पूजा महतोले अविजित २० तथा कप्तान इन्दु बर्माले १८ रन बनाइन्।
बलिङतर्फ हङकङकी मेहकदीप कौर र लिया वाङ कीले एक एक विकेट लिइन्। यसअघि हङ्कङ्का लागि १०४ रन बनाउने क्रममा शान्जिन शहजदले सर्वाधिक ५४ रन बनाइन् । उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन्। त्यसैगरी, करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन जोडिन्।
बलिङतर्फ नेपालकी राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक एक विकेट लिइन्।
६ मध्ये चार खेल जितेको नेपालले आइतवार तेस्रो स्थानका लागि प्लेअफ खेल्ने पाउने छ। शुक्रवारको खेल जितेको भए हङकङ फाइनलमा पुग्ने थियो। अब युगाण्डा र नामिबियाबीचको खेलले फाइनलको टिम टुंगो लाग्नेछ।
चैत १, २०८१ शुक्रबार १७:४८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।