एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको ज्यान गयो, दुई जना घाइते

रौतहट : सर्लाहीको मलङ्गवामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भए।
नवलपुर–मलङ्गवा सडक खण्ड अन्तर्गत गम्हरियाबाट मलङ्गवातर्फ जाँदै गरेको एम्बुलेन्सले बिहीबार राति पैदल हिँडिरहेका व्यक्तिलाई ठक्कर दिएको हो।
सर्लाही प्रहरीका प्रवक्ता एवम् डिएसपी सरोज राईका अनुसार एम्बुलेन्सको ठक्करबाट मलङ्गवा नगरपालिका–३, बस्ने ५५ वर्षीय जयप्रकाश जयसवालको मृत्यु भयो।
दुर्घटनामा घाइते भएका मलङ्गवा नगरपालिका–४, का ५२ वर्षीय जितु राय र भारत सीतामढीका २० वर्षीय राकेश गुप्तालाई शुक्रवार थप उपचारका लागि शुक्रवार जनकपुर पठाइएको उनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेका प्रेस नोटमा ठक्कर दिने एम्बुलेन्सको नम्बर खुलाइएको छैन। प्रहरीले एम्बुलेन्सको नम्बर अनुसन्धानको लागि खुलाउन नचाहेको प्रेस नोटमा उल्लेख गरेको छ।
एम्बुलेन्स चालक र एम्बुलेन्सको अवस्थाबारे पत्ता लागिसकेको हुँदा अनुसन्धान कार्यमा प्रभावित हुन नदिनको लागि एम्बुलेन्स नम्बरलाई सार्वजनिक नगरिएको डिएसपी राईले बताए।
चैत १, २०८१ शुक्रबार १७:३८:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।