फरक विद्यालय : पढ्न कहिल्यै ढिलो हुँदैन

काठमाडौं : गोंगबुको एउटा गल्ली भित्र रहेको सानो टहरामा साधारण विद्यालय भन्दा फरक दृश्य देखिन्छ। गेटभित्र पस्ने बित्तिकै प्रौढ आमा समूहको तस्बिर देखिन्छ। चाउरिएका हातहरूले सिसाकलम समाइरहेको। आफ्नो छोरी/नातिनी उमेरका बालिकाहरूसँग केही कुरा सोध्न खोजे जस्तो। साँघुरो कक्षाकोठा भरिने गरी विद्यार्थी तर निकै शान्त।
यही हो चेतना महिला विद्यालय जहाँ विभिन्न उमेर समूहका दुईसय बढी महिला छन् जो नियमित पढ्ने पढ्ने उमेर घर्किएपछि विद्यार्थी बनेर पढाई सुरु गरिरहेका छन्। काठमाडौँ उपत्यकामा यस्तै छ वटा महिला विद्यालय छन्। अहिले यो टोखा नगरपालिकाकै उत्कृष्ट विद्यालयमध्येमा पर्छ।
वैकल्पिक शिक्षा दिने विद्यालय भए पनि चेतना महिला विद्यालयलाई टोखा नगरपालिकाले सामुदायिक विद्यालय सरह नै प्रोत्साहन गर्ने गरेको छ। दरबन्दीको शिक्षकहरू यहाँ जाँदैनन् । तर यहाँका शिक्षकहरूलाई 'सरकारी शिक्षक पोसाक'लगाउने अनुमति दिएको छ नगरपालिकाले। तर पोसाक भने शिक्षक आफैंले किन्ने गरेका छन्।
तीन कक्षा देखि कम्प्युटर शिक्षाको प्रावधान मिलाएको भए पनि अहिले भने आठ कक्षा देखि सिक्न पाउने व्यवस्था छ। अहिले कम्प्युटर शिक्षाको सट्टामा पाठ्यक्रममा 'टोखा'राखिएको छ। टोखा स्थानीय सरकार अन्तर्गतको पाठ्यक्रम हो। यसमा टोखा सम्बन्धित सम्पूर्ण क्रियाकलाप र जानकारी पढाइन्छ।
अब पाठ्यक्रममा सिलाई कार्यक्रम राख्ने तयारीमा देखियो विद्यालय। विद्यार्थीको लागि किताब समेत विद्यालयले नै दिने गरेको छ।
यहाँ रुकुम, रोल्पा, सोलुखुम्बु, ओखलढुंगादेखिको विद्यार्थी छन्। अधिकांश अरूको घरमा काम गर्ने, व्यवसाय गर्ने, गृहिणी र केही यहीँका स्थानीय पनि छन्।
छ महिनासम्म विद्यार्थी गयल भए पनि फर्केर आउने भएकाले 'ड्रप आउट' नभएको शिक्षकहरूले बताए। तर एकै कक्षामा दुई/तीन वर्ष सम्म पढ्ने विद्यार्थीहरू भने छन्।
‘उहाँहरूलाई अप्ठ्यारो भइरहेको हुन्छ। तर भर्ना भइसकेपछि पढाई छोड्ने सोचाइ देखिएको छैन,’ सह-प्रधानाध्यापक पण्डितले भनिन्, ‘हामीले नै यसरी कक्षा चढ्न पाउनु हुन्न भन्दा मान्नु हुन्छ। पढाउन चैं पढाउनु भन्नुहुन्छ।'
परिवारसँगै लुकाउनुपर्ने बाध्यता
विविध समस्याले पढ्ने उमेरमा शिक्षाबाट वञ्चित महिलालाई शिक्षित बनाउन २०६२ मा सात महिला मिलेर स्थापना गरेका थिए यो विद्यालय। २०६५ मा आएर विद्यालयले वैकल्पिक शिक्षा अनुसारको अनुमति र अनुदान पनि पायो। त्यसकै दुई वर्ष पछि यसले दश कक्षाको परीक्षामा सामेल हुने अनुमति पायो।
‘महिलाहरू सधैँ पछि पर्नुको कारणहरूमध्ये शिक्षाबाट वञ्चित हुन पनि हो भनेर वैकल्पिक शिक्षामा लागेका थियौँ,’ प्रधानाध्यापक कृष्णदेवी श्रेष्ठ भन्छिन्, ‘यहाँ आउनु भएका कोही महिला दुखी भएर फर्किनु भएको छैन। तर धेरैले आत्मविश्वासका साथ शिक्षा लिइरहेको कुरा लुकाउन पर्ने स्थिति छ। पढ्न सक्ने स्थिति नभएको महिलाहरू समेत समय व्यवस्थापन गरेर पढ्न आउनु भनेको हाम्रो लागि यही नै सफलता हो।'
टोखाको भित्री भागमा छ यो विद्यालय। तर यहाँ चाबहिल, नयाँ बानेश्वरसम्मका महिला पुग्छन् त्यहाँ। प्रारम्भमा जोडिएका सातमध्ये चार जान अहिले छैनन्। तीन जना भने अहिले पनि यहीँ पढाउने गर्छन्।
चेतना माविकै नाममा ७७ जिल्लामै महिलाहरूको लागि विकल्पको रूपमा विद्यालय बनाउने योजना भए पनि त्यो पुरा गर्न भने धेरै गाह्रो भएको सह-प्रधानाध्यापक शान्ता पण्डितले बताइन्।
‘सुरुमा विद्यार्थी जम्मा पाँच जना हुनुहुन्थ्यो। पढाउन सुरु गरेको छ महिना नपुग्दै ४० जना बढी दिदीबहिनी पढ्न आइसक्नु भएको थियो,’श्रेष्ठले भनिन्,‘हाम्रोमा छ/सात वर्षमै एसएलसी परीक्षा दिन पाउने भयो। त्यो सुनेपछि छिटो पास हुने रहेछ पनि धेरै आउनु भएको छ।'
यहाँ पढ्ने केही आमा विद्यार्थीहरूलाई छोरीले नै भर्ना गरिदिएका छन्। अनि केहीलाई भने श्रीमानले नै मोटरसाइकलमा छोड्न आउँछन्। तर धेरैले अझै पनि परिवारको साथ पाएका छैनन्।
'सबै' जान्ने, पढ्न-लेख्न नजान्ने
अनौपचारिक शिक्षा नीति २०६३ अनुसार १४ देखि ५५ वर्ष उमेर समूहका महिलाहरूले पढ्न सक्छन्। चेतनाको रेकर्ड हेर्ने हो भने ७१ वर्ष उमेरसम्मका महिलाले एसएलसी दिइसकेका छन्। विद्यार्थीहरूको असमान उमेर र शिक्षा दिने तरिका फरक भए पनि पाठ्यक्रम एउटै भएको कारण पढाउन भने सहज नहुने शिक्षकहरूको अनुभव सुनियो।
विद्यालयमा जो पढ्न आउँछन् उनीहरू व्यवहारिक शिक्षामा पोख्त छन्। घर व्यवहार अनि सन्तान हुर्काइसकेकाहरू हुन्छन्। घरायसी हरहिसाबमा पनि जानकार हुन्छन्। तर अक्षर चिन्दैनन्। जब उनीहरूमा पढ्न-लेख्न जान्ने हुनुपर्ने रहेछ भन्ने अनुभव हुन्छ अनि विद्यालय खोज्दै आइपुग्छन्। अन्य विद्यार्थीको तुलनामा यस्ता महिलाहरूले पढाएको छिटो टिप्ने गरेको शिक्षकहरूको अनुभव देखियो।
'बच्चालाई पढाउने भन्दा फरक अनुभव हुने नै भयो। तर सबै कुरा जानिसकेको, पढ्न लेख्न मात्र त नजानेको हो। त्यही भएर होला एकदम ध्यान दिएर, बुझ्न खोज्नु हुन्छ,’ प्रधानाध्यापक श्रेष्ठले भनिन्, ‘भित्रैदेखि सिक्न मन भएको, अनि छिटो सिकौँ भन्ने भएपछि पढाउन चैं सहज छ।'
काठमाडौँमा घरेलु कामका लागि आउनेहरूको सङ्ख्या अहिले विद्यालयमा बढिरहेको छ। एक समय मिलाएर पढ्न सकिने, दोस्रो शुल्क पनि सस्तो। यसले विद्यार्थीको सङ्ख्या बढाएको देखियो।
'अहिले त काम गर्न राख्दा नै पढाइ दिन्छौं भनेर राख्ने गर्छन्। अनि सस्तो रहेछ भनेर उनीहरूले हाम्रो विद्यालयमा भर्ना गरिदिन्छ। जे भए पनि उनीहरूले निकै राम्रो पढिरहेका छन्,’ उनले भनिन्।
यहाँ कक्षा चार, सात र नौ पढाइ हुँदैन। तर पनि विद्यार्थीले निकै राम्रो पढ्ने गरेको उनीहरूको ठम्याई छ। पढाउने पनि सबै महिला नै भए पनि यहाँ विज्ञान शिक्षक भने पुरुष छन्। यहाँबाट पढेर गएकाहरूले प्रतिष्ठित कलेजहरूमा १२ कक्षा पढ्ने इच्छा गर्छन्। केहीले पढेका पनि छन्। यहाँका विद्यार्थीले इन्जिनियरिङदेखि कानुनसम्म पढेका छन्। कोही जापानसम्म गएका छन्।
'अब महिला विद्यालयहरू मध्ये एकलाई सेन्टर पारेर एउटालाई १२ कक्षाको अनुमति दिने समेत कुरा भइरहेको छ । यदि यो भयो भने हाम्रो धेरै विद्यार्थीलाई सहज हुन्छ,’ सह-प्रधानाध्यापक शान्ता पण्डितले बताइन्।
भौतिक स्रोतमा कमजोर
जग्गा भाडा लिएर बनाएको टहरामा जम्मा १२ वटा कक्षाकोठा छन् । तर पनि अन्य वैकल्पिक विद्यालयहरूको तुलनामा गतिलै देखिन्छ यो। विद्यालयको अतिरिक्त क्रियाकलापको लागि सानो हल पनि बनाएको देखियो।
त्यसबाहेक सामुदायिक स्तरको क्रियाकलाप भयो भने वडा र नगरपालिकाले नै ठाउँ मिलाइदिने गरेको देखियो। स्थानीय सरकारबाट विद्यालय स्तरमा हुने कार्यक्रममा उनीहरूलाई छुटाउँदैनन्।
शिक्षक तालिमको अभाव भने देखियो यहाँ।
'हाम्रो विद्यार्थीहरूको व्यक्तिगत विकास एकदम छिटो भएको पाएका छौँ । पढ्न थालेको एक वर्षमै जे पनि गर्न सक्छु जस्तो भयो भन्नुहुन्छ। त्यो परिवर्तन अनुसार शिक्षकहरूलाई तालिमको अभाव भएको छ’ प्रधानाध्यापक श्रेष्ठले भनिन् ।
महिला नै महिलाको साथी
युवती र उमेर घर्किएका प्रौढ विद्यार्थीलाई सँगै राखेर पढाउँदा शिक्षकहरूलाई केही अप्ठ्यारो हुने गरेको देखियो। दुवै उमेर समूहमा सिकाइकोस्तरमा भिन्नता छ। दुबैलाई एकै कक्षामा राखेर पढाउँदा अलि असहज हुने नै भयो।
माइग्रेन, प्रेसर र सुगरको बिरामी विद्यार्थीहरू पनि छन्। उनीहरूले छिटो सिके पनि पढाएको चाँडै बिर्सने समस्या देखिएको शिक्षिकाहरूले बताए। एकै कक्षाकोठामा रहेका बालिका र युवतीहरूको सिकाइको गति अलि ढिलो हुने तर छिटो नबिर्सने देखियो।
यसले पाठ्यक्रमको गति व्यवस्थापनमा समस्या हुने गरेको देखियो। केहीले चाँडो पढाएकाले बुझ्न कठिन भएको गुनासो गर्छन् त केही ढिला पढाएको गुनासो गर्छन्।
विद्यार्थीको उमेर अनुसार कक्षा छुट्टाएर पढाउन सके सहज हुने देखियो। तर त्यसका लागि पर्याप्त कक्षा कोठा छैन। त्यसको विकल्पमा शिक्षकहरूले दुई बालिका विद्यार्थीको बिचमा एउटा आमा विद्यार्थी राखेर पढाउने गरेका छन्।
‘दुवै उमेर समूहकालाई बिचबिचमा मिलाएर राख्दा सहज हुने हामीले देख्यौँ,’ संस्थापक शिक्षक समेत रहेकी उर्मिला प्रधान भन्छिन्, ‘दुइटा नानीहरूको बिचमा एउटा प्रौढलाई राख्दा उनीहरू घुलमिल पनि भयो। पढाइमा सहयोगी भूमिका निभाउने पनि रहेछन्।'
आमा समूहकाले बेलाबेला टिफिनको जिम्मा समेत लिन्छन्। त्यसले छिटो उनीहरुबीच आत्मीय सम्बन्ध बन्ने गरेको छ। साथी र अभिभावक एकै व्यक्ति हुँदा सहज हुने नै भयो। आफ्नो आमा समान उमेरका साथी हुँदा साना उमेरकाहरु अनुशासित हुने भए।
'कति त रोएरै पढ्नु हुन्छ। पढ्न जानेपछि खुसी भएर घर जानुहुन्छ। तर कतिले पढिरहेको कुरा सुनाउन सकिरहनु भएको छैन। पढ्न थालेको भन्दा पर्दैन भन्लान् भनेर केहीले अनेक बहाना बनाएर विद्यालय आउने गरेको देखियो’ प्रधानले भनिन्।
पढ्न चाहने अभिभावकलाई साथ दिने कि !
अभिभावक नै चेतना महिला विद्यालयका विद्यार्थी हुन्। त्यसैले यहाँ अभिभावक भेला हुँदैन। समाज र राज्यले अनौपचारिक शिक्षा र वैकल्पिक शिक्षालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आए पनि घरपरिवारमा भने अझै सकारात्मक प्रभाव पर्न सकेको छैन।
‘आफ्नो आमा, सासू, श्रीमतीले पनि पढ्न पाउनुपर्छ भन्ने सोच अझै स्थापित भएको छैन। सन्तान जन्मिसके पछि सन्तानकै पढाइमा उहाँहरूको जिन्दगी जान्छ,’ प्रधानाध्यापक श्रेष्ठले भनिन्, ‘यस्तो बेलामा आफ्नो सन्तानसँगै आमा, श्रीमतीलाई पनि पढ्ने अवसर दिनु कति राम्रो कुरा हो। तर अवसर दिनु भन्दा घरमा रोकेको पनि सुनिन्छ। सन्तानै ठुलो भइसके,अब किन पढ्नुपर्यो भने गलत मानसिकता देखिन्छ।'
चैत १, २०८१ शुक्रबार १६:१३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।