पीएम कपमा नेपाल पुलिसको लगातार तेस्रो जित, एपीएफ दुई विकेटले पराजित

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा दीपेन्द्रसिंह ऐरी नेतृत्वको नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेको छ।
शुक्रबार रोहित पौडेल नेतृत्वको सशस्त्र प्रहरी बल(एपीएफ)सँग भएको खेलमा दुई विकेटको जित निकाल्दै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो।
एपीएफले दिएको ९५ रनको लक्ष्य भेट्टाउन पुलिसलाई निक्कै संघर्ष गर्नुपर्यो। उसका लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाउँदा अर्जुन साउद ११, रसिद खान १० रनमा आउट भए। गुल्सन झा १२ रनमा नटआउट रहे।
एपीएफका लागि भुवन कार्कीले तीन, अभिषेक गौतम र रोहित पौडेलले समान दुई-दुई विकेट लिँदा कमलसिंह ऐरीले एक विकेट हात पारे।
त्यसअघि लमहीको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले २७.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो।
उसका लागि सन्दीप जोराले २६, लोकस बमले २२, आशिफ शेख र अमरसिंह रौटोलले समान १०-१० रन बनाए।
बलिङतर्फ नेपाल पुलिसका ललित राजवंशीले छ विकेट लिँदा सागर ढकाल, गुल्सन झा, कुशल भुर्तेल र करण केसीले समान एक-एक विकेट लिए। राजवंशी प्लेयर अफ दि म्याच समेत घोषित भए।
जितसँगै नेपाल पुलिस क्लब तीन खेलमा तीनमै जित निकालेर तालिकाको दोस्रो स्थानमा छ। एपीएफ भने तीनमा दुईमा जित र एकमा हारसहित तेस्रो स्थानमा छ।
जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तीनमा जितसहित शीर्ष स्थानमा छ।
चैत १, २०८१ शुक्रबार १३:४९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।